कीर्तिपुरका विद्यार्थीलाई प्राथमिकतामा ग्यास दिन मन्त्री यादवको निर्देशन
ग्यास वितरणको अवस्थाबारे बुझ्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले काठमाडौंको टेकुस्थित ग्यास वितरण डिपोमा अनुगमन गर्नुभएको छ। उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उहाँले वितरण प्रक्रियालाई व्यवस्थित बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ।
अनुगमनका क्रममा मन्त्री यादवले विशेषगरी विद्यार्थी बसोबास गर्ने क्षेत्रमा ग्यासको उपलब्धतालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो। कीर्तिपुर क्षेत्रमा ठूलो संख्यामा विद्यार्थी डेरा लिएर बस्ने भएकाले उनीहरूको दैनिक आवश्यकतालाई ध्यानमा राखेर ग्यास वितरण गर्नुपर्ने उहाँको भनाइ थियो।
मन्त्री यादवले सबै ग्यास वितरक कम्पनीलाई विद्यार्थीको बसोबास बढी रहेका क्षेत्रमा आपूर्ति र वितरणमा प्राथमिकता दिन निर्देशन दिनुभएको छ।
टेकुस्थित वितरण केन्द्रमा पुगेर उहाँले ग्यास वितरणको अवस्थासमेत निरीक्षण गर्नुभएको थियो। उपभोक्ताको आवश्यकतालाई ध्यानमा राख्दै उपलब्ध ग्यासको वितरण सहज र व्यवस्थित बनाउनुपर्नेमा मन्त्रालयले जोड दिएको छ।

