हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, दुई महिनाभित्र सेनाले परीक्षण उत्पादन थाल्ने

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, दुई महिनाभित्र सेनाले परीक्षण उत्पादन थाल्ने

लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको प्रयास फेरि निर्णायक चरणमा पुगेको छ। पटक–पटक सञ्चालनको घोषणा भएर पनि व्यवहारमा अघि बढ्न नसकेको उद्योगबाट अब नेपाली सेनामार्फत दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने गरी सरकारले काम तीव्र बनाएको हो।

उद्योग पुनः सञ्चालनको सम्भावना, अहिलेसम्म भएका काम र आगामी कार्ययोजना समेटिएको अध्ययन प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाइएको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदनले तत्काल पुराना मेसिन मर्मत गरी परीक्षण उत्पादन गर्ने र त्यसबाट प्राप्त नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा पूर्ण क्षमतामा चलाउने बाटो प्रस्ताव गरेको छ। सरकारले दिएको समयसीमाअनुसार नेपाली सेनाले आगामी दुई महिनाभित्र कपडा उत्पादनको परीक्षण सुरु गर्नुपर्नेछ।

परीक्षण सञ्चालनको जिम्मेवारी पाएको नेपाली सेनाको प्राविधिक टोली उद्योग परिसरमा खटिइसकेको छ। टोलीले परिसर सरसफाइसँगै उत्पादनका लागि आवश्यक कच्चा पदार्थ खरिद गरेको छ भने सैनिक सामग्री उत्पादन निर्देशनालयका प्राविधिकहरूले मेसिन मर्मत सुरु गरेका छन्।

प्रारम्भिक काम अघि बढाउन अर्थ मन्त्रालयले असारको पहिलो सातामै सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ निकासा गरेको प्रतिवेदनमा उल्लेख छ। उद्योग मन्त्रालयको प्रस्तावमा उपलब्ध गराइएको उक्त रकम मेसिन मर्मत, कच्चा पदार्थ व्यवस्थापन र परीक्षण उत्पादनसँग सम्बन्धित काममा प्रयोग हुनेछ।

उद्योगको भवन तथा अन्य भौतिक संरचना पनि लामो समयदेखि प्रयोगविहीन हुँदा मर्मत आवश्यक देखिएको छ। पूर्वाधार विकास मन्त्रालयले संरचना मर्मतका लागि ५० लाख रुपैयाँको लागत अनुमान तयार पारेको छ। सोही अनुमानअनुसार भौतिक पूर्वाधार मर्मतको जिम्मेवारी पूर्वाधार मन्त्रालयले लिएको छ।

उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम भने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमार्फत गरिएको छ। प्रतिवेदनअनुसार विद्युत् मर्मतको काम पूरा भइसकेको छ।

तत्काल नयाँ प्रविधि वा ठूलो लगानी थप्नुभन्दा उद्योगमा रहेका पुरानै मेसिनलाई प्रयोगयोग्य बनाएर परीक्षण उत्पादन गर्ने सरकारको योजना छ। परीक्षणबाट मेसिनको क्षमता, उत्पादन लागत, कपडाको गुणस्तर र व्यावसायिक सम्भाव्यताबारे आधार तयार हुने अपेक्षा गरिएको छ।

त्यसपछि उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिनेछ। डीपीआरका आधारमा आवश्यक लगानी, व्यवस्थापनको स्वरूप, उत्पादन क्षमता र कानुनी तथा नीतिगत निर्णयबारे सरकारले थप कदम चाल्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन बुझ्दै मन्त्री यादवले हेटौंडा कपडा उद्योगलाई राष्ट्रिय गौरवसँग जोडिएको औद्योगिक सम्पदाका रूपमा सरकारले प्राथमिकतामा राखेको बताइन्। कार्यदलको सुझावअनुसार निर्धारित समयमै परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने उनको प्रतिबद्धता छ।

वर्षौंदेखि बन्द उद्योगका संरचना जोगाउँदै स्वदेशमै कपडा उत्पादन गर्ने योजना सफल भए सरकारी निकायका लागि आवश्यक पोसाक तथा कपडाको आन्तरिक आपूर्ति बढाउन सकिने अपेक्षा छ। तर परीक्षण उत्पादनपछि तयार हुने प्राविधिक र आर्थिक निष्कर्षले नै उद्योगको दीर्घकालीन भविष्य निर्धारण गर्नेछ।