एसियन गेम्स छनोट : नेपालसामु इन्डोनेसियाको ११४ रनको लक्ष्य

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
एसियन गेम्स छनोट : नेपालसामु इन्डोनेसियाको ११४ रनको लक्ष्य

एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत इन्डोनेसियाले नेपालसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा बिहीबार भएको खेलमा इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनाएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाको सुरुवात राम्रो हुन सकेन। पहिलो ओभरमै ओपनर गुमाएको टोलीलाई त्यसपछि कप्तान नि पुतु आयु नन्दा सकारिनीले सम्हालिन्। उनले अविजित ५६ रन बनाउँदै टोलीलाई सम्मानजनक अवस्थामा पुर्‍याइन्।

इन्डोनेसियाका लागि निलुह देवीले २३ रन जोडिन्। कप्तान आयु नन्दा र देवीबीच तेस्रो विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी भयो। नि मादे पुत्री सुवानदेवीले १३ रनको योगदान दिइन्।

नेपालले फिल्डिङका क्रममा १७ रन अतिरिक्त दिएको थियो, जसले इन्डोनेसियाको स्कोर बढाउन मद्दत पुग्यो। नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिइन् भने रिया शर्माले १ विकेट हात पारिन्।

समूह ‘बी’ मा रहेको नेपाल यसअघि चीनलाई पराजित गर्दै २ अंकसहित शीर्ष स्थानमा छ। इन्डोनेसियाको भने अंक छैन। यो खेल जिते नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ।

नेपालको जितले चीनलाई समूह उपविजेता बनाउनेछ। तर इन्डोनेसिया विजयी भए दुवै टोलीको समान २ अंक हुने भएकाले रनरेटका आधारमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।