झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, ११ संक्रमित
वर्षायामसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण चिन्ताजनक बन्दै गएको छ। पछिल्लो पटक मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको मृत्यु भएपछि जिल्लामा यस रोगबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार ती महिलाको गत साता मृत्यु भएको हो। उनको मृत्युसँगै जिल्लामा हालसम्म पुष्टि भएका जेई संक्रमितको संख्या ११ पुगेको छ।
मृत्यु भएकामध्ये चार महिला र दुई पुरुष छन्। संक्रमितको तुलनामा मृत्युको संख्या उच्च देखिएपछि जिल्लामा संक्रमणको अवस्था थप चासोको विषय बनेको छ।
स्वास्थ्य कार्यालयले प्रभावित तथा जोखिम देखिएका विभिन्न क्षेत्रमा परीक्षणको दायरा बढाएको जनाएको छ। संक्रमणको अवस्था बुझ्न र आवश्यक अनुगमन गर्न स्वास्थ्यकर्मीको टोलीसमेत निरन्तर परिचालन गरिएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले जानकारी दिए।
वर्षायाम सुरु भएपछि जिल्लामा क्रमशः जेईका बिरामी र मृत्युका घटना देखिन थालेका हुन्। पछिल्लो मृत्युले संक्रमण नियन्त्रण, परीक्षण र प्रभावित क्षेत्रको नियमित निगरानीलाई अझ प्रभावकारी बनाउनुपर्ने अवस्था देखाएको छ।

