गरिमा चौधरी हत्या प्रकरणमा दुई जना पक्राउ, जीतपुरसिमरामा प्रदर्शन

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
गरिमा चौधरी हत्या प्रकरणमा दुई जना पक्राउ, जीतपुरसिमरामा प्रदर्शन

तीन वर्षीया बालिकाको हत्या भएको घटनाले बाराको जीतपुरसिमरा क्षेत्र तनावग्रस्त बनेको छ। बालिकालाई प्रलोभनमा पारेर लगिएको र त्यसपछि यौन हिंसा गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएपछि स्थानीयवासी न्याय र दोषीमाथि कडा कारबाहीको माग गर्दै सडकमा उत्रिएका छन्।

पीडित परिवार र स्थानीयवासीले बुधबार बिहानदेखि सुरु गरेको प्रदर्शन बिहीबार पनि जारी राखेका छन्। पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर गरिएको प्रदर्शन र सडक अवरोधका कारण यातायात प्रभावित भएको छ। सडकमा सयौँ सवारीसाधन रोकिँदा यात्रुसमेत अलपत्र परेका छन्।

विज्ञापन
khoj2

घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक सुमन थापा र चालक प्रमोद चौधरी रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार तीन वर्षीया बालिकालाई चकलेट दिने भन्दै फकाएर घटनास्थलसम्म पुर्‍याइएको थियो। त्यसपछि उनीमाथि यौन हिंसा गरी हत्या गरिएको खुलेको प्रहरीको भनाइ छ।

बालिकाको शव जीतपुरसिमरा उपमहानगरपालिका–२ भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठामा फेला परेको थियो। शव भेटिएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब निरीक्षक दिलिप क्षेत्रीको नेतृत्वमा घटनास्थल अनुसन्धान टोली परिचालन गरिएको थियो।

त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक नरेन्द्र कुँवरको नेतृत्वमा थप टोली पुगेर घटनास्थल सुरक्षित गरी प्रमाण संकलन र अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

अनुसन्धानलाई थप प्रभावकारी बनाउन नेपाल प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरिएको थियो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा कुकुरले म्याजिकका सहचालक थापातर्फ संकेत गरेपछि उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको थियो। त्यसबेला उनी प्रहरीसँगै बालिकाको शव खोज्ने कार्यमा सहयोग गरिरहेको जस्तो देखिएको थियो।

प्रहरीले थापाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जनाएको छ। अनुसन्धान अघि बढाउँदै जाँदा म्याजिक चालकसमेत घटनामा जोडिएको देखिएपछि जीतपुरसिमरा उपमहानगरपालिका–१ का २४ वर्षीय प्रमोद चौधरीलाई पनि पक्राउ गरिएको हो।

चौधरीविरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको बारा प्रहरीले जनाएको छ। घटनामा अरू व्यक्तिको समेत संलग्नता थियो वा थिएन भन्ने विषयमा अनुसन्धान जारी छ।

तीन वर्षीया बालिकामाथि भएको घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। परिवार र स्थानीयवासीले पक्राउ परेकामाथि प्रभावकारी अनुसन्धान गरी घटनामा संलग्न सबैलाई कानुनअनुसार कडा कारबाही हुनुपर्ने माग राखेका छन्।

त्यही मागसहित सुरु भएको सडक प्रदर्शन दोस्रो दिनसम्म आइपुग्दा वीरगन्ज–पथलैया सडकखण्डको आवागमनमा ठूलो असर परेको छ। स्थानीयको आक्रोश साम्य भएको छैन। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान, दोषीको पहिचान र पीडित परिवारलाई न्याय सुनिश्चित नभएसम्म दबाब जारी राख्ने बताएका छन्।