बालेनमाथि झलनाथको प्रहार : ‘प्रधानमन्त्रीको पदमा बस्न सुहाउँदैन’

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
बालेनमाथि झलनाथको प्रहार : ‘प्रधानमन्त्रीको पदमा बस्न सुहाउँदैन’

नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विवाद चर्किएको छ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शाहको भनाइलाई गम्भीर, गलत र राष्ट्रविरोधी भन्दै सार्वजनिक रूपमा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खनालले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको “नेपालले समेत भारतका जग्गा मिचेको” भन्ने अभिव्यक्तिलाई खतरनाक टिप्पणीको संज्ञा दिएका छन्। उनले यस्तो अभिव्यक्तिले नेपाली जनताको राष्ट्रिय भावना र सीमा सम्बन्धी संवेदनशील विषयलाई कमजोर बनाउने बताएका छन्।

खनालले के भने?

‘हिजो प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे । यो अत्यन्त गम्भीर, दुखद, गलत र राष्ट्र विरोधी अभिव्यक्ति हो । हामी नेपाली जनता युगौँ देखि विदेशी अतिक्रमणका विरुद्ध संघर्ष गर्दै आएका छौं र अहिले पनि हाम्रो देशमाथि अतिक्रमण भइरहेको छ । त्यस्ता कार्यलाई हलुका बनाउने र विदेशीहरूको चाकडी गर्ने हिसाबले यस्ता अभिव्यक्ति दिनु राष्ट्र विरोधी कार्य हो । वहाँले कुन तथ्य, कुन प्रमाण र कुन दस्तावेजका आधारमा यस्तो खतरनाक अभिव्यक्ति दिएको हो?

उक्त अभिव्यक्तिले देशभित्र र बाहिर रहेका ३ करोड नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि कुठाराघात भएको छ । राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन । साथै, यस सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र साहले माफी नमागेसम्म विरोध र भर्त्सना गर्न म सम्पूर्ण देशभक्त जनता र शक्तिहरुलाई जोडदार आग्रह गर्दछु । प्रधानमन्त्रीका यी राष्ट्रघाती अभिव्यक्तिलाई संसदको रेकर्डबाट तत्काल हटाउन पनि म सम्माननीय सभामुख समक्ष आग्रह गर्दछु ।’

विवादको सुरुवात कसरी भयो?

आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे बोल्दै नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको हुन सक्ने जानकारी आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका थिए। उनले दुवै देशले तथ्य र अध्ययनका आधारमा सीमा सम्बन्धी विषयलाई आपसी समझदारीबाट समाधान गर्नुपर्ने धारणा राखेका थिए।

विज्ञापनविकिबिजि

प्रधानमन्त्रीको यही भनाइ सार्वजनिक भएपछि विभिन्न राजनीतिक दल, नेताहरू र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समर्थन र विरोध दुवै प्रतिक्रिया जनाइरहेका छन्। सीमा र राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय भएकाले यो अभिव्यक्ति अहिले राजनीतिक बहसको केन्द्रमा पुगेको छ।