‘बालेनको पुलिस होइनौं’ भनेपछि डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए
कैलालीको इलाका प्रहरी कार्यालय सुखडका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरी सार्वजनिक कार्यक्रममा दिएको विवादास्पद अभिव्यक्तिपछि जिल्ला प्रहरी कार्यालय कैलालीमा सोधपुछका लागि बोलाइएका छन्। प्रहरी नेतृत्वका अनुसार उनीसँग पछिल्लो अभिव्यक्तिमात्र होइन, कार्यशैली र यसअघि आएका विभिन्न गुनासाबारे पनि जानकारी लिने प्रक्रिया सुरु गरिएको छ।
घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागुऔषधविरुद्धको सचेतनामूलक कार्यक्रममा चौधरीले ‘हामी बालेनको पुलिस पनि होइनौं, नेपाल पुलिस हो’ भन्दै आफूहरू कुनै व्यक्ति वा राजनीतिक प्रभावमा नभएको बताएका थिए। त्यसक्रममा उनले ‘केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो’ भन्ने अभिव्यक्ति दिएका थिए, जसको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको थियो।
उक्त कार्यक्रममा उनले आफूहरू जनताको मतबाट नभई प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट प्रहरी सेवामा आएको उल्लेख गर्दै संगठनको स्वतन्त्र भूमिकाबारे पनि टिप्पणी गरेका थिए। भाषणको भिडियो सार्वजनिक नगर्न आग्रह गरे पनि त्यसविपरीत भिडियो बाहिरिएपछि विषय थप चर्चामा आएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले चौधरीलाई सोधपुछका लागि बोलाइएको पुष्टि गरेका छन्। प्रहरीका अनुसार अभिव्यक्तिको वास्तविक सन्दर्भ बुझ्नुका साथै संगठनसँग सम्बन्धित अन्य विषयमा पनि जानकारी संकलन भइरहेको छ।
प्रहरी स्रोतका अनुसार चौधरीविरुद्ध स्थानीय तहदेखि प्रहरी प्रधान कार्यालयसम्म कार्यशैली, अनुशासन र जिम्मेवारी निर्वाहसँग सम्बन्धित विभिन्न गुनासा पुगेका छन्। यसअघि पनि संगठनको नीति–निर्देशनसँग सम्बन्धित विषयमा उनीसँग स्पष्टीकरण मागिएको र बजार अनुगमनका क्रममा सामान जफत तथा पछि फिर्ता गरेको आरोपबारे समेत जानकारी लिने काम भइरहेको बताइएको छ।
प्रहरी नेतृत्वले हालसम्म उनीमाथि आर्थिक अनियमिततासँग जोडिएको गम्भीर आरोप नरहेको स्पष्ट पारेको छ। तर सार्वजनिक अभिव्यक्ति, संगठनको मर्यादा र कार्यसम्पादनसँग सम्बन्धित विषयमा आएका उजुरीलाई आधार बनाएर आवश्यक अनुसन्धान र परामर्श प्रक्रिया अघि बढाइएको जनाएको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
अर्जेन्टिनालाई रेफ्रीले जिताएको आरोप, फिफामा इजिप्टको उजुरी
ताजा
घाटामा रहेको आयल निगममा कर्मचारीलाई भने बोनसै बोनस
उपत्यकामा २,०७६ चालक कारबाहीमा, १९ लाख बढी राजस्व संकलन
बालेन सरकारको १०० दिन : कति बाचा पूरा भए (सूचीसहित)?
पेट्रोलपम्प बन्द गर्नेलाई अब १० लाखसम्म जरिवाना, १५ दिन आपूर्ति रोक्का
करिब ८ वर्षपछि फेरि पलायो निर्मला पन्तले न्याय पाउने आशा
सुस्ताबासीको पीडामा मौन नबसौँ