उपत्यकामा २,०७६ चालक कारबाहीमा, १९ लाख बढी राजस्व संकलन
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ७६ जना सवारी चालक कारबाहीमा परेका छन्। विभिन्न प्रकारका नियम उल्लङ्घनका कारण उनीहरूलाई जरिवाना तथा कानुनी प्रक्रिया अघि बढाइएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकामध्ये ६८ जना मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक रहेका छन्। त्यसैगरी नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२९, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १२६ र अत्यधिक गतिमा सवारी चलाउने १८९ जना पनि कारबाहीमा परेका छन्।
लेन अनुशासन पालना नगर्ने १३९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२४ जना, फुटपाथ वा निषेधित स्थानमा पार्किङ गर्ने ८५ जना र एकतर्फी सडकमा सवारी चलाउने ५९ जना पनि कारबाहीमा परेको कार्यालयले जनाएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या एक हजार १५७ पुगेको छ।
ट्राफिक प्रहरीले दैनिक निगरानी र चेकजाँचलाई निरन्तर कडाइ गर्दै आएको जनाएको छ। पछिल्लो २४ घण्टाको कारबाहीबाट मात्रै राज्यकोषमा १९ लाख ७१ हजार ५०९ रुपैयाँ राजस्व संकलन भएको कार्यालयको विवरणमा उल्लेख छ।

