ललितपुरमा स्मार्ट ब्यारिकेड, रातो बत्तीमा आफैँ बन्द
आफ्नो पालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित ललितपुर महानगरपालिकाले सडकमा रहेका जेब्रा क्रसिङमा डिजिटल रूपमा सञ्चालन हुने ‘स्मार्ट सेफ्टी ब्यारिकेड’ प्रयोगमा ल्याएको छ।
रातो बत्ती बलिरहेको समयमा पनि नागरिकले जथाभावी सडक पार गर्दा दुर्घटनाको जोखिम बढ्न थालेपछि त्यसलाई रोक्न महानगरले यस्तो प्रविधि अपनाएको हो।
जेब्रा क्रसिङको वारि र पारि दुवैतर्फ राखिएको यो ब्यारिकेड रातो बत्ती बल्दा स्वतः बन्द हुन्छ भने हरियो बत्ती बल्नासाथ आफैँ खुल्छ। यसबाट रातो बत्ती बलिरहँदासम्म नागरिक दुवैतर्फ सुरक्षित रूपमा रोकिन्छन् भने हरियो बत्ती बलेपछि ब्यारिकेड खुल्ने र नागरिकले सहज तथा सुरक्षित रूपमा सडक वारपार गर्न पाउनेछन्।
ललितपुरमा बढ्दै डिजिटल प्रविधिको प्रयोग
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित मेयर चिरिबाबु महर्जनको नेतृत्वमा रहेको ललितपुर महानगर अन्य महानगरपालिकाभन्दा थप प्रविधिमैत्री बन्दै गएको देखिन्छ।
‘डिजिटल जमानामा डिजिटल प्रविधि, स्मार्ट जमानामा स्मार्ट तरिका’ भन्ने अवधारणालाई आत्मसात् गर्दै ललितपुरमा एकपछि अर्को डिजिटल विकासका काम भइरहेका छन्।
हाल ललितपुरका सडकमा ट्राफिक व्यवस्थापनका लागि अत्याधुनिक स्मार्ट क्यामेराको प्रयोग पनि बढाइएको छ। महानगरपालिका र ट्राफिक प्रहरीको सहकार्यमा विभिन्न स्थानमा जडान गरिएका ती क्यामेराले ट्राफिक प्रहरीको प्रत्यक्ष उपस्थिति नभए पनि सडकमा लापरबाही गर्ने चालकको गल्ती पत्ता लगाउन सक्छन्।
महानगरले हाल परीक्षणका लागि जावलाखेल चोकमा एउटा मात्र स्मार्ट ब्यारिकेड राखेको छ। यसले राम्रो नतिजा दिएमा अन्य व्यस्त चोकका जेब्रा क्रसिङमा पनि विस्तार गर्ने तयारी गरिएको छ।
अन्य पालिकाले पनि अपनाउनुपर्ने प्रणाली
ललितपुरले सुरु गरेको यो स्मार्ट ब्यारिकेड प्रणाली अब उपत्यकाका अन्य पालिका तथा देशका व्यस्त सहरमा पनि विस्तार गर्नुपर्ने देखिन्छ।
केही दिनअघि न्युरोड क्षेत्रमा महानगर प्रहरी नदेखिँदा जथाभावी पार्किङ भएको घटनाले पनि प्रहरीको उपस्थितिमा मात्र सडक व्यवस्थापन भर पर्न नसकिने देखाएको छ।
यदि चोक–चोकमा स्मार्ट क्यामेरा जडान गरेर ‘नो पार्किङ’ क्षेत्रमा पार्क गरिएका सवारीसाधनको नम्बर स्वचालित रूपमा पहिचान गरी डिजिटल प्रणालीबाटै जरिवाना काट्ने व्यवस्था गरियो भने नगर प्रहरी होस् वा नहोस्, नियम उल्लङ्घन गर्ने प्रवृत्ति स्वतः घट्न सक्छ।
डिजिटल प्रणालीले नै बनाउँछ अनुशासित समाज
अब सरकार बल प्रयोग गर्ने वा जरिवाना मात्र बढाउनेतर्फ होइन, सडक व्यवस्थापनलाई डिजिटल बनाउनेतर्फ केन्द्रित हुन आवश्यक छ। किनकि देश तब बलियो हुन्छ, जब त्यसको प्रणाली बलियो हुन्छ।
काठमाडौँ महानगरपालिकासहित अन्य स्थानीय तहले पनि विकास बजेट यस्ता दीर्घकालीन डिजिटल पूर्वाधारमा लगानी गर्न सके नागरिक आफैँ नियम पालनातर्फ प्रेरित हुनेछन्।
ललितपुरमा सुरु भएको स्मार्ट ब्यारिकेड एउटा प्रविधि मात्र होइन, डिजिटल प्रणालीमा आधारित सडक व्यवस्थापनको सुरुवात पनि हो। यदि यस्तो प्रणाली देशभर विस्तार गर्न सकियो भने ट्राफिक व्यवस्थापन थप सुरक्षित, व्यवस्थित र प्रभावकारी बन्ने अपेक्षा गर्न सकिन्छ।
अन्त्यमा, ललितपुर महानगरपालिकाले सुरु गरेको स्मार्ट सेफ्टी ब्यारिकेड प्रविधि तपाईंलाई कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।
