प्रेमिकासँग विवाहको माग गर्दै टेलिकम टावर चढे युवक
प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै मलंगवास्थित नेपाल टेलिकमको अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन्।
गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसेन आइतबार बिहान मलंगवा नगरपालिका–९ मा रहेको नेपाल टेलिकम कार्यालय परिसरको करिब ८० मिटर अग्लो टावरमा पुगेका थिए।
प्रहरीका अनुसार हुसेनले बिहान करिब ४ बजे आफ्ना एक साथीलाई फोन गरेर आफू टावरमाथि रहेको जानकारी दिएका थिए। त्यसपछि घटनाबारे प्रहरीलाई खबर गरिएको थियो। उनी रातिको समयमा नै टावरमा चढेको हुन सक्ने अनुमान गरिएको छ।
घटनास्थलमा पुगेका सुरक्षाकर्मीसमक्ष हुसेनले प्रेमिकालाई बोलाइदिनुपर्ने र उनीसँग विवाह गर्न पाउनुपर्ने माग राखेका थिए। माग पूरा नभए टावरबाट हामफाल्ने चेतावनी दिएपछि उद्धार टोलीले संवाद र पारिवारिक समन्वयलाई प्राथमिकता दिएको थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली उद्धारमा परिचालन भएको थियो। प्रहरीले उनका बुवा र दाजुलाई पनि घटनास्थलमा बोलाएर टेलिफोनमार्फत हुसेनसँग कुरा गराएको थियो।
परिवारका सदस्य र सुरक्षाकर्मीले निरन्तर सम्झाइबुझाइ गरेपछि उनी टावरबाट तल ओर्लिन सहमत भएका थिए।
सर्लाही प्रहरीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले युवकलाई कुनै क्षति हुन नदिई सुरक्षित रूपमा तल झारिएको जानकारी दिए।
प्रारम्भिक विवरणअनुसार हुसेन सर्लाही क्याम्पसमा बीबीए अध्ययनरत छन्। सोही क्याम्पसमा अध्ययन गर्ने एक युवतीसँग उनको प्रेम सम्बन्ध रहेको बताइएको छ। यद्यपि घटनाको वास्तविक कारण र त्यसअघिको परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
