मकवानपुरको मनहरीमा १६२ किलो गाँजासहित दुई चालक पक्राउ
मनहरी गाउँपालिका–९ भाबरमा प्रहरीले दुई सवारीसाधनबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा कार र पिकअपका चालकसमेत पक्राउ परेका छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले २३ गते राति करिब २:४५ बजे भाबरको भित्री सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअपलाई जाँचका लागि रोक्न खोजिएको थियो। त्यसक्रममा पिकअप चालकले गाडी लिएर भाग्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
कारको खानतलासी गर्दा सिटमा प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा गाँजाका १३ पोका भेटिएका थिए। बरामद गाँजाको कुल तौल १६२ किलो ७९४ ग्राम रहेको प्रहरीले जनाएको छ।
घटनामा कार चलाइरहेका चितवनको माडी नगरपालिका–५ धोबाहा निवासी ५६ वर्षीय देव नारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका–२४ निवासी ४८ वर्षीय टेकबहादुर दोङ पक्राउ परेका छन्।
प्रारम्भिक अनुसन्धानमा पिकअपले कारलाई बाटोमा ‘स्कर्टिङ’ गर्दै अगाडि बढाउन सहयोग गरिरहेको खुलेको प्रहरीको भनाइ छ।
बरामद गाँजा, कार र पिकअपसहित दुवै चालकलाई इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको छ। गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ पुर्याउन लागिएको थियो र ओसारपसारमा अरू व्यक्तिको समेत संलग्नता छ कि छैन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

