‘फ्रम हाउस टु द पिक’ अभियान पूरा गरेर काठमाडौं फर्किए सांसद मिङ्मा डेभिड शेर्पा

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
‘फ्रम हाउस टु द पिक’ अभियान पूरा गरेर काठमाडौं फर्किए सांसद मिङ्मा डेभिड शेर्पा

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पा सगरमाथाको सफल आरोहणपछि काठमाडौं फर्किएका छन्। सङ्घीय संसद्को लोगो अंकित झण्डा बोकेर विश्वको सर्वोच्च शिखर पुगेका शेर्पाको यो अभियान अहिले राजनीतिक र पर्वतीय दुवै क्षेत्रमा चर्चाको विषय बनेको छ।

गत बुधबार बिहान ५ः४० बजे उनले सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए। ‘फ्रम हाउस टु द पिक’ भन्ने नारासहित गरिएको अभियानमार्फत उनले संसददेखि संसारकै अग्लो शिखरसम्म नेपालको पहिचान पुर्‍याउने प्रयास गरेको बताएका छन्।

आरोहण पूरा गरेर आधार शिविर फर्किएपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सफलताको जानकारी सार्वजनिक गरेका थिए। नौ दिनको अभियानपछि आफूले सफलतापूर्वक सगरमाथा आरोहण गरेको उनले उल्लेख गरेका छन्।

काठमाडौं फर्किएपछि शेर्पाले कठिन मौसम र चुनौतीपूर्ण अवस्थाबीच पनि अभियान सफल भएको बताएका छन्। उनले यो यात्रा व्यक्तिगत उपलब्धिमा मात्रै सीमित नभई नेपालको राष्ट्रिय पहिचान र संसदको सम्मानसँग जोडिएको सन्देश भएको उल्लेख गरेका छन्।

पर्वतारोहण क्षेत्रमा लामो अनुभव रहेका शेर्पा यसअघि पनि विभिन्न हिमाली अभियानमा सक्रिय रहँदै आएका छन्। तर यसपटकको आरोहणलाई राजनीतिक र प्रतीकात्मक रूपमा समेत हेरिएको छ।

उनले अभियान सफल बनाउन सहयोग गर्ने सभामुख डोलप्रसाद अर्याल, संसद सचिवालय, सहयोगी टोली तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

सगरमाथाको चुचुरोमा संसदको लोगो अंकित झण्डा पुर्‍याएको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैले उनलाई बधाई दिएका छन्।