राष्ट्रिय परिचयपत्र अब बैंक खातामा अनिवार्य, कहिलेसम्म अद्यावधिक?
राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुअघि बैंक खाता खोलेका ग्राहकले समेत अब आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर बैंक तथा वित्तीय संस्थामा अद्यावधिक गर्नुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई पुराना खातावालाको विवरणसमेत क्रमशः अद्यावधिक गर्न निर्देशन दिएको हो। निर्देशनअनुसार बैंकहरूले आगामी असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यम प्रयोग गरी खातावालासँग राष्ट्रिय परिचयपत्रको विवरण भए–नभएको स्वघोषणा लिनुपर्नेछ।
राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नेपाली नागरिकबाट परिचयपत्र वा त्यसमा उल्लेख भएको राष्ट्रिय परिचयपत्र नम्बर लिएर ग्राहक विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि खाता खोल्दा नागरिकता वा अन्य कागजात बुझाएका ग्राहकले पनि अब बैंकको अभिलेखमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश गराउनुपर्नेछ।
परिचयपत्र लिने प्रक्रिया पूरा नगरेका ग्राहकलाई भने तत्काल खाता सञ्चालनबाट वञ्चित गर्ने व्यवस्था गरिएको छैन। त्यस्ता नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरी पुस मसान्तभित्र बैंकमा अद्यावधिक गराउन जानकारी दिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ। यसका लागि बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आवश्यक सूचना उपलब्ध गराउनुपर्नेछ।
नयाँ व्यवस्थाले बैंकिङ प्रणालीमा रहेका ग्राहकको पहिचानसम्बन्धी विवरणलाई राष्ट्रिय परिचय प्रणालीसँग जोड्ने र अभिलेख थप व्यवस्थित बनाउने लक्ष्य राखेको देखिन्छ। यससँगै पुरानो खाता प्रयोग गरिरहेका ग्राहकले पनि बैंकबाट आउने सूचना हेरी तोकिएको अवधिभित्र विवरण अद्यावधिक गर्नुपर्ने भएको छ।
तर १६ वर्षमुनिका बालबालिकाको नाममा खोलिने खातामा राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
