देशैभरका चिकित्सकलाई आन्दोलित बनाएको नारायणी अस्पताल प्रकरण के हो?

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
देशैभरका चिकित्सकलाई आन्दोलित बनाएको नारायणी अस्पताल प्रकरण के हो?

आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवाहरू ठप्प भएका छन्। निजी तथा सरकारी दुवै अस्पताल देशभर ठप्प हुँदा नागरिकहरूले ठूलो मात्रामा सास्ती भोग्नुपरिरहेको छ।

बिहान झिसमिसेमै आएर घण्टौँसम्म लाइन बसेर टोकन लिएका बिरामीहरूलाई १० बजे आएर अस्पताल बन्द छ भनिदिँदा धेरै जना निराश हुँदै घर फर्किन बाध्य बनेका छन्।

उता वीरगञ्जस्थित नारायणी अस्पतालमा कुल ७० मध्ये ३० जना चिकित्सकहरूले राजीनामा बुझाइसकेका छन् भने बाँकीले पनि एकमुष्ट राजीनामा बुझाउने तयारी गरिरहेका छन्।

यसरी देशैभरका चिकित्सकहरू एकैपटक आन्दोलित हुनुको कारण के होला त? आउनुहोस्, हेरौँ।

नारायणी अस्पतालमा भएको घटना

घटना यही साउन ८ गतेको हो। वीरगञ्जको नारायणी अस्पतालमा ४५ वर्षीय राजकुमार पटेलको मृत्यु भयो। त्यसपछि उनका आफन्तहरूले पटेललाई एक ठाउँबाट अर्को ठाउँमा, अर्थात् स्थानान्तरण गर्दा अक्सिजन सपोर्ट हटाएको कारणले उनको मृत्यु भएको आरोप लगाए।

विज्ञापनविकिबिजि

अर्थात् अस्पताल र डाक्टरहरूको लापरबाहीका कारण आफ्नो बिरामीको मृत्यु भएको भन्दै उनीहरूले अस्पताल परिसरमा आन्दोलन गरे। सो आन्दोलनका क्रममा नारायणी अस्पतालमा तोडफोड गर्नुका साथै त्यहीँ कार्यरत डाक्टर प्रमोद रामलाई कुटपिट गरे।

आन्दोलनकारीको कुटपिटका कारण डाक्टर प्रमोदको टाउको र शरीरमा गम्भीर चोट लागेको छ। हाल डा. प्रमोदलाई काठमाडौंको ट्रमा सेन्टरमा राखेर उपचार भइरहेको छ।

हो, यही घटनापछि चिकित्सकहरूले अस्पतालभित्र सुरक्षित रूपमा काम गर्ने वातावरण हुनुपर्‍यो भन्दै पछिल्लो दुई–तीन दिनदेखि आन्दोलन गरिरहेका थिए।

त्यसपछि अस्पताल र मृतकका आफन्त, वीरगञ्जका सीडीओ र त्यहाँका प्रहरी प्रमुखबीच छलफलसमेत भएर यस घटनाको छानबिन गर्न एक समिति बनिसकेको छ।

तर उक्त छलफलमा सीडीओ र प्रहरी प्रमुखद्वारा नारायणी अस्पतालका प्रतिनिधिहरूमाथि दुर्व्यवहार भएको भन्दै नारायणी अस्पतालका सम्पूर्ण चिकित्सकहरूले आन्दोलन सुरु गरेका थिए।

चिकित्सक संघको देशव्यापी आन्दोलन

त्यसपछि चिकित्सकहरूको मागप्रति राज्य जिम्मेवार नबनेको र नारायणी अस्पतालमा तोडफोड गर्ने तथा डा. प्रमोदमाथि आक्रमण गर्ने सबैलाई कारबाही नगरेको भन्दै त्यसको विरोधस्वरूप नेपाल चिकित्सक संघले आज अर्थात् मंगलबार देशैभरका निजी तथा सरकारी अस्पतालहरूमा आकस्मिकबाहेकका अन्य सेवाहरू बन्द गर्न अनुरोध गरेको थियो।

सोही अनुरोधअनुसार आज देशैभरको स्वास्थ्य क्षेत्र ठप्प भएको छ। हाल अस्पतालहरूमा मुख्यगरी ओपीडी सेवा बन्द गरिएको छ। आकस्मिक र पहिले नै अस्पतालमा भर्ना भएका बिरामीहरूको उपचार भए पनि ओपीडी सेवा भने पूर्ण रूपमा बन्द छ।

जसका कारण देशैभर लाखौँ बिरामी मर्कामा परेका छन्। खैर, साउन ८ गते नारायणी अस्पतालमा तोडफोड गर्ने र चिकित्सकमाथि आक्रमण गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ भने अस्पतालको सीसीटीभी फुटेज हेरेर बाँकी व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तर चिकित्सकहरू भने अबदेखि अस्पतालभित्र काम गर्दा हामी सुरक्षित छौँ भन्ने ग्यारेन्टी सरकारले नदिएसम्म आन्दोलन जारी राख्ने अडानमा पुगेका छन्।