भोलिदेखि विद्युत् महसुलमा भ्याट लाग्ने, छुटको सीमा भने अझै अन्योलमा
काठमाडौं । भोलि साउन १ गतेदेखि नेपालमा पहिलोपटक विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ। तर घरायसी ग्राहकका लागि कति युनिटसम्मको विद्युत् खपत भ्याटमुक्त हुने भन्ने विषयमा भने अझै अन्तिम निर्णय भइसकेको छैन।
सरकारले बजेट प्रस्तुत गर्दा मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको अतिरिक्त खपतबाट बनेको महसुलमा ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेको थियो। बजेटमा गरिएको यही व्यवस्थाअनुसार पहिलो ५० युनिटसम्मको महसुलमा भ्याट नलाग्ने र त्यसपछि खपत भएको विद्युत्को महसुलमा मात्र ५ प्रतिशत भ्याट जोडिने व्यवस्था छ।
तर उक्त निर्णयको आलोचना भएपछि सरकारले भ्याटमुक्त सीमालाई बढाउने तयारी गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अन्तिम उपभोक्तामाथि अतिरिक्त भार नपर्ने गरी व्यवस्था समायोजन गरिने र करिब ९५ प्रतिशत नेपाली उपभोक्तालाई असर नपर्ने विकल्पमा काम भइरहेको बताएका थिए।
अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभागले विद्युत् महसुलमा भ्याट लागू गर्ने निर्देशिका तयार गरी स्वीकृतिका लागि पठाइसकेको छ। सीमा ५० युनिटमै कायम राख्ने, त्यसलाई बढाउने वा भ्याट लगाउने तरिका परिवर्तन गर्ने भन्ने विषयमा आज बेलुकासम्म निर्णय हुन सक्ने अधिकारीहरूले बताएका छन्।
आजसम्म नयाँ निर्णय सार्वजनिक नभए बजेटमा उल्लेख भएअनुसार पहिलो ५० युनिटसम्मको महसुलमा भ्याट लाग्ने छैन। ५० युनिट नाघेको अतिरिक्त खपतबाट बनेको महसुलमा मात्र ५ प्रतिशत भ्याट गणना हुनेछ। सरकारले आजै सीमा परिवर्तन गरेमा भने भोलिदेखि नयाँ निर्देशिकाअनुसार भ्याट लागू हुनेछ।
५० युनिट नाघ्दैमा पूरै बिलमा भ्याट नलाग्ने
अहिलेसम्म कायम व्यवस्थाअनुसार कुनै घरायसी ग्राहकले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्दैमा पूरै बिलमा भ्याट लाग्ने छैन। पहिलो ५० युनिटसम्मको महसुल भ्याटमुक्त हुनेछ भने त्यसभन्दा माथिको अतिरिक्त खपतबाट बनेको रकममा मात्र ५ प्रतिशत भ्याट लाग्नेछ।
उदाहरणका लागि कुनै ग्राहकले एक महिनामा १०० युनिट विद्युत् प्रयोग गर्दा पहिलो ५० युनिटको महसुलमा भ्याट लाग्ने छैन। बाँकी ५० युनिटबाट बनेको महसुलमा मात्र ५ प्रतिशत भ्याट जोडिनेछ।
आधारभूत विद्युत् महसुल ८३५ रुपैयाँ भएको अवस्थामा पहिलो ५० युनिटसम्मको ३६० रुपैयाँमा भ्याट लाग्दैन। बाँकी ५० युनिटको महसुल ४७५ रुपैयाँमा ५ प्रतिशतका दरले २३ रुपैयाँ ७५ पैसा भ्याट लाग्छ। यसअनुसार ग्राहकले कुल ८५८ रुपैयाँ ७५ पैसा तिर्नुपर्ने हुन्छ।
तर सरकारले भ्याटमुक्त सीमा बढाएमा यही गणना नयाँ सीमाभन्दा माथिको खपतमा मात्र लागू हुनेछ।
आधाभन्दा बढी ग्राहकलाई हालको व्यवस्थाले असर नगर्ने
नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार देशभर करिब ५६ लाख ४० हजार घरायसी विद्युत् ग्राहक छन्। तीमध्ये करिब ३० लाख ३४ हजार अर्थात् ५३.७९ प्रतिशत ग्राहकले महिनामा ५० युनिट वा सोभन्दा कम विद्युत् खपत गर्छन्।
हालको ५० युनिटको सीमा कायम रहेमा यी ग्राहकलाई नयाँ भ्याटले असर गर्ने छैन। ५१ युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने करिब २६ लाख ६ हजार घरायसी ग्राहक भने भ्याटको दायरामा पर्नेछन्। उनीहरूको पनि पूरै बिलमा नभई सीमाभन्दा माथिको अतिरिक्त खपतमा मात्र भ्याट लाग्नेछ।
सरकारले सीमा बढाएर धेरै उपभोक्तालाई भ्याटमुक्त राख्ने निर्णय गरेमा करको दायरामा पर्ने ग्राहकको संख्या थप घट्नेछ।
उद्योग र व्यवसायमा १३ प्रतिशत भ्याट
औद्योगिक, व्यावसायिक तथा अन्य गैर–घरायसी ग्राहकको विद्युत् महसुलमा भने भोलिदेखि १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ।
भ्याटमा दर्ता भएका उद्योग तथा व्यवसायले विद्युत् खरिद गर्दा तिरेको भ्याटलाई आफ्नो वस्तु वा सेवा बिक्री गर्दा उठाएको भ्याटसँग समायोजन गर्न पाउनेछन्। यसलाई इनपुट ट्याक्स क्रेडिट भनिन्छ।
तर विद्यालय, अस्पताल, खानेपानी संस्था तथा भ्याटमा दर्ता नभएका गैर–घरायसी ग्राहकका लागि भने १३ प्रतिशत भ्याट प्रत्यक्ष अतिरिक्त आर्थिक भार बन्न सक्ने देखिएको छ।
बिलिङ प्रणाली परिमार्जन
नयाँ कर व्यवस्था लागू गर्न नेपाल विद्युत् प्राधिकरणले आफ्नो बिलिङ सफ्टवेयर र करसम्बन्धी प्रणाली परिमार्जन गरिरहेको छ। प्रणालीले घरायसी र गैर–घरायसी ग्राहक छुट्याउने, मासिक खपत पहिचान गर्ने र लागू हुने दरअनुसार स्वतः भ्याट गणना गर्नेछ।
प्राधिकरण स्वयं पनि भ्याटमा दर्ता भइसकेको छ। भोलिदेखि जारी हुने बिलमा विद्युत् महसुल र भ्याट रकम छुट्टाछुट्टै देखाउने गरी तयारी गरिएको जनाइएको छ।
यद्यपि घरायसी ग्राहकका लागि भ्याटमुक्त सीमा कति कायम हुने भन्ने विषय आज बेलुकासम्म टुंगिन बाँकी छ। सरकारले नयाँ निर्णय नगरे बजेटमा घोषणा गरिएको ५० युनिटको सीमा नै लागू हुनेछ। सीमा परिवर्तन गर्ने निर्णय भए प्राधिकरणले बिलिङ प्रणालीलाई नयाँ व्यवस्थाअनुसार समायोजन गर्नेछ।
