सेयर बजारबारे अर्थमन्त्रीको सचिवालयको सन्देश: अफवाहबाट सचेत रहन आग्रह

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
सेयर बजारबारे अर्थमन्त्रीको सचिवालयको सन्देश: अफवाहबाट सचेत रहन आग्रह

नयाँ सरकार गठनपछि लगातार दबाबमा देखिएको सेयर बजारलाई लिएर लगानीकर्तामा बढेको निराशा र आक्रोशबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले संयमित रहन आग्रह गरेको छ। सचिवालयले सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई सम्बोधन गर्दै बजारमा फैलाइएका हल्ला र त्रासको पछि नलाग्न अपिल गरेको हो।

अर्थमन्त्री वाग्लेको सचिवालयले सेयर बजार घट्दा लगानीकर्ताको सम्पत्तिको मूल्य कागजी रूपमा कम देखिनु र थप गिरावटको आशंका फैलिनुले असन्तुष्टि बढ्नु स्वाभाविक भएको उल्लेख गरेको छ। बजारको पछिल्लो अवस्थाप्रति व्यक्त प्रतिक्रिया र आलोचनाबारे सरकार जानकार रहेको सन्देशसमेत पोस्टमा दिइएको छ।

सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै अर्थमन्त्रीको सचिवालयले समग्र आर्थिक वातावरण भने निराशाजनक नरहेको दाबी गरेको छ। बजारमा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको र केही आर्थिक सूचक सुधारको दिशामा रहेको उल्लेख गर्दै लगानीका लागि आधारभूत अवस्था क्रमशः सहज बन्दै गएको तर्क गरिएको छ।

सरकारले नियमित आम्दानी गर्ने करदातालाई राहत दिने तथा खर्च र लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको पनि अर्थमन्त्रीको सचिवालयले जनाएको छ। राजस्व विवादमा परेका हजारौँ व्यक्ति तथा व्यवसायलाई छुट सुविधामार्फत पुनः आर्थिक गतिविधिमा फर्कने अवसर दिइएको विषयसमेत पोस्टमा समेटिएको छ।

स्थिर सरकार र नियामक निकायमा पारदर्शी तथा इमानदार नेतृत्व चयनको प्रक्रियाले पुँजी बजार सुधारका लागि आधार तयार गरिरहेको अर्थमन्त्री वाग्लेको सचिवालयको दाबी छ। केही नियामक निकायमा नेतृत्व नियुक्त भइसकेको र बाँकी निकायमा पनि प्रक्रिया अघि बढिरहेको उल्लेख गरिएको छ।

विज्ञापनविकिबिजि

अर्थमन्त्रीको सचिवालयले धितोपत्र बजार सुधारका लागि नियामक निकायमार्फत योजनाबद्ध काम सुरु भएको जनाएको छ। बजारलाई प्रभावमा पार्ने, नियामक निकायमाथि नियन्त्रण जमाउने वा कृत्रिम अस्थिरता सिर्जना गर्ने गतिविधिमाथि अनुसन्धान भइरहेको संकेत पनि पोस्टमा गरिएको छ।

यस क्रममा भारतको सन् १९९१ को हर्षद मेहता प्रकरणको उदाहरण दिँदै बजारमा ठूलो चलखेल गर्ने प्रवृत्तिप्रति सरकार सचेत रहेको उल्लेख गरिएको छ।

बजार सुधारका प्रयास भइरहेकै बेला नियोजित रूपमा नकारात्मक भाष्य निर्माण गरिएको अर्थमन्त्रीको सचिवालयको आरोप छ। सरकारले कम प्रचार र बढी काम गर्ने शैली अपनाउँदा त्यसको फाइदा उठाएर केही समूहले परिस्थितिजन्य लाभका लागि भ्रामक सूचना फैलाइरहेको पोस्टमा उल्लेख छ।

विशेषगरी अमुक व्यक्तिलाई पक्राउ गरिँदै छ, कसैमाथि अनुसन्धान सुरु भइसकेको छ वा ठूलो कारबाहीको तयारी भइरहेको छ भन्ने प्रकारका अपुष्ट सूचना योजनाबद्ध रूपमा फैलाइएको अर्थमन्त्री वाग्लेको सचिवालयको दाबी छ। यस्तो प्रचारले लगानीकर्तामा अनावश्यक त्रास सिर्जना गरेको भन्दै सरकारले हल्लामा भनिएजस्तो ढङ्गले काम नगरेको स्पष्ट पारिएको छ।

अर्थमन्त्रीको सचिवालयले क्लब हाउस, ह्वाट्सएप तथा म्यासेन्जर समूह, स्वघोषित बजार विश्लेषक, संघ–संस्थाका पदाधिकारी वा अपुष्ट सामग्री प्रकाशन गर्ने सञ्चारमाध्यमलाई सरकारी सूचनाको आधिकारिक स्रोत नमान्न आग्रह गरेको छ। यस्ता माध्यमबाट फैलाइने सूचनाका पछाडि व्यक्तिगत वा समूहगत स्वार्थ हुन सक्ने चेतावनीसमेत दिइएको छ।

लगानीकर्तालाई दोस्रो बजारमा प्रवेश गर्नुअघि कम्पनीको वित्तीय अवस्था, जोखिम, बजारको प्रवृत्ति र नियामकीय सूचनाबारे पर्याप्त अध्ययन गर्न सुझाव दिइएको छ। कुनै पनि अफवाहका आधारमा हतारमा निर्णय नगर्न तथा शंका लागे सम्बन्धित सरकारी र नियामक निकायबाट आधिकारिक सूचना लिन आग्रह गरिएको छ।

सेयर बजारमा पछिल्लो समय देखिएको गिरावटले साना तथा ठूला दुवै प्रकारका लगानीकर्ता दबाबमा छन्। यस्तो अवस्थामा अर्थमन्त्री वाग्लेको सचिवालयबाट आएको सन्देशले बजारप्रति भरोसा जगाउने प्रयास गरेको देखिए पनि लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न नीतिगत प्रतिबद्धतासँगै व्यावहारिक परिणामसमेत आवश्यक पर्नेछ।