विपद् उद्धारमा हेलिकोप्टर, ड्रोन र राफ्ट परिचालन गर्न चार संस्थाबीच समझदारी
बाढी, डुबान, पहिरो वा अन्य विपद्मा फसेका नागरिकको खोज तथा उद्धारलाई छिटो र प्रभावकारी बनाउन हेलिकोप्टर, ड्रोन र राफ्ट परिचालन गरिने भएको छ। यसका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निजी क्षेत्रका तीन संस्थासँग छुट्टाछुट्टै समझदारी गरेको हो।
प्राधिकरणमा आयोजित कार्यक्रममा वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघ र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज् (नारा)का प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। सहकार्यपछि विपद्का बेला स्थलमार्गबाट पुग्न कठिन क्षेत्र, बाढीले घेरिएका बस्ती तथा तत्काल हवाई अनुगमन आवश्यक पर्ने स्थानमा उपलब्ध साधन प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।
वायुसेवा सञ्चालक संघसँग भएको समझदारीअनुसार काठमाडौं उपत्यकाभित्र आवश्यक पर्ने उडान सेवा निःशुल्क उपलब्ध गराइनेछ। उपत्यकाबाहिर उद्धार वा अन्य विपद् प्रतिकार्यका लागि उडान गर्नुपरेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने सहमति भएको प्राधिकरणले जनाएको छ।
नेपाल ड्रोन संघले विपद्का समयमा प्राधिकरणको मागअनुसार ड्रोन, सम्बन्धित उपकरण र पाइलट निःशुल्क उपलब्ध गराउनेछ। ड्रोन परिचालनमा खटिने जनशक्तिको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले मिलाउने समझदारीमा उल्लेख छ।
ड्रोनको प्रयोग प्रभावित क्षेत्रको अवस्थाबारे तत्काल जानकारी लिन, जोखिमयुक्त स्थान पहिचान गर्न तथा उद्धार टोलीलाई आवश्यक सूचना उपलब्ध गराउन उपयोगी हुने विश्वास गरिएको छ।
नारासँगको समझदारीअनुसार बाढी, डुबान र नदीजन्य विपद्का बेला आवश्यक परेमा राफ्ट, उपकरण र जनशक्ति निःशुल्क उपलब्ध गराइनेछ। ती साधन विपद्मा परेका व्यक्तिको खोज तथा उद्धार, राहत सामग्री र औषधि ढुवानी तथा उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुर्याउन प्रयोग गरिनेछ।
समझदारी एक वर्षसम्म लागू हुनेछ। आवश्यकताअनुसार आपसी सहमतिमा यसको अवधि नवीकरण गर्न सकिने व्यवस्था राखिएको छ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासबाट मात्र सम्भव नहुने बताए। सरकार, निजी क्षेत्र र समुदायबीच प्रभावकारी समन्वय भए मात्रै विपद्को असर कम गर्न सकिने उल्लेख गर्दै उनले सहयोगका लागि निजी क्षेत्रप्रति आभार व्यक्त गरे।
वायुसेवा सञ्चालक संघ नेपालका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपद्मा परेका नागरिकको जीवन र सम्पत्तिको सुरक्षाका लागि आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
हस्ताक्षर कार्यक्रममा राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका उपसचिव फणिन्द्र प्रसाद पौडेलसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधिको उपस्थिति थियो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ब्रेकिङ
मन्त्री यादवको निर्देशनपछि बुधबारदेखि देशभर भरि ग्यास सिलिन्डर बिक्री हुने
ताजा
नेपालकी उद्योगमन्त्री यादव र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता
ताजा
नागरिक एपमै देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने
ताजा
मिटरब्याजपीडितलाई भेट्न बारा पुगे गृहमन्त्री
ताजा
हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी, दुई महिनाभित्र सेनाले परीक्षण उत्पादन थाल्ने
ताजा
गाडी तेर्स्याएर प्रश्न रोकिन्न
खवालुङ स्कुलको भाइरल भिडियो, अहिंसा सिकाउने विद्यालयमै हिंसा?
