प्रतिनिधिसभाले निर्वाचनसँग सम्बन्धित दुई महत्वपूर्ण विधेयक सर्वसम्मतिबाट पारित गरेको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरेको हो।
यी दुवै विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गत वैशाख २५ गते संसदमा दर्ता गरेको थियो। प्रतिनिधिसभाबाट पारित भएसँगै अब विधेयक राष्ट्रिय सभामा जाने प्रक्रिया सुरु हुनेछ। त्यहाँबाट पनि पारित भएपछि पुनः प्रतिनिधिसभामा फर्काइनेछ। त्यसपछि सभामुखबाट प्रमाणित भई राष्ट्रपतिसमक्ष पुग्नेछ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनका रूपमा लागू हुनेछ।
सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधिसभामा विधेयक पारितका लागि प्रस्ताव पेश गरेकी थिइन्। सरकारले यसअघि अध्यादेशमार्फत ल्याइएका निर्वाचन कानुनसम्बन्धी व्यवस्थालाई कानुनी रूप दिन अहिले विधेयक ल्याएको जनाएको छ।
विधेयकमाथिको छलफलका क्रममा सांसद प्रेमबहादुर बयकले समानुपातिक निर्वाचन प्रणालीमा अपाङ्गता भएका व्यक्तिको सहभागिता अझ सुनिश्चित गर्नुपर्ने विषय उठाएका थिए। त्यसको जवाफ दिँदै मन्त्री गौतमले अहिलेको कानुन जनसंख्याको आधारमा समावेशिताको ढाँचामा ल्याइएको बताइन्। आगामी निर्वाचनका क्रममा यस विषयमा थप अध्ययन र सुधार गर्न सकिने संकेत पनि उनले दिइन्।
यता ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफलका लागि भने कुनै सांसदले संशोधन प्रस्ताव दर्ता गरेका थिएनन्। दुवै विधेयक बिना विवाद सहज रूपमा पारित भएका हुन्।
प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको छ।