एसियन गेम्सको सपना अधुरै, सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
एसियन गेम्सको सपना अधुरै, सेमिफाइनलमा मलेसियासँग नेपाल पराजित

एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाल फाइनल पुग्न असफल भएको छ। शनिबार मलेसियाको बायोमास ओभल मैदानमा भएको सेमिफाइनलमा घरेलु टोली मलेसियासँग दुई विकेटले पराजित भएपछि नेपालले प्रत्यक्ष छनोटको अवसर गुमाएको हो।

नेपालले दिएको १२७ रनको लक्ष्य मलेसियाले १८.४ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो। जितसँगै मलेसियाले एसियन गेम्समा स्थान सुरक्षित गरेको छ भने नेपाल अब तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्नेछ।

एल्सा हन्टरको आक्रामक ब्याटिङ निर्णायक

मलेसियाको जितमा एल्सा हन्टरले २४ बलमा ४८ रनको विस्फोटक इनिङ्स खेलिन्। उनले १० चौका र एक छक्का प्रहार गर्दै नेपालमाथि दबाब सिर्जना गरिन्।

धनुश्री मुहुननले २१, आइना हमिजाले १८ तथा माहिरा इजातीले १४ रन थपे। एक समय मलेसिया सहज जिततर्फ अघि बढिरहेको देखिए पनि नेपालले अन्तिम चरणमा उत्कृष्ट बलिङ गर्दै खेलमा रोमाञ्चक मोड ल्याएको थियो।

नेपालको पुनरागमन पर्याप्त भएन

१५ ओभरको समाप्तिसम्म मलेसिया ४ विकेट गुमाएर ११४ रनमा पुगेको थियो। त्यसपछि नेपालले लगातार विकेट झार्दै घरेलु टोलीलाई दबाबमा राख्यो।

विज्ञापनविकिबिजि

रिया शर्माले महत्वपूर्ण तीन विकेट लिइन्। मनिषा उपाध्याय र रुबिना क्षेत्रीले समान दुई–दुई विकेट हात पार्दा सीता रानामगरले एक विकेट लिइन्।

एक समय ११९ रनमा आठ विकेट गुमाएको मलेसियालाई वान जुलियाले अविजित ६ रन बनाउँदै जितसम्म पुर्‍याइन्।

इन्दु र कविताको योगदान

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो।

कप्तान इन्दु बर्माले अविजित ४६ रन बनाइन्। कविता कुँवरले १५ बलमै ३३ रनको तीव्र इनिङ्स खेलिन्। रुवि पोदारले १७ तथा पूजा महतोले १५ रनको योगदान दिए।

नेपालले अन्तिम दुई ओभरमा ३४ रन जोड्दै प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो।

मलेसियाका लागि विनिफ्रेड दुराइसिङ्गामले दुई विकेट लिइन् भने आइसा एलिसा र माहिरा इजातीले एक–एक विकेट हात पारे।

अब चीनसँग तेस्रो स्थानको भिडन्त

सेमिफाइनल हारसँगै नेपालको उपाधि यात्रा समाप्त भएको छ। अब नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ।

अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई हराउँदै फाइनलमा स्थान बनाएको छ। उपाधिका लागि अब मलेसिया र थाइल्यान्ड आमनेसामने हुनेछन्।