जलन उपचार सुधार्न देशभर एउटै मापदण्ड लागू गर्ने तयारी

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
जलन उपचार सुधार्न देशभर एउटै मापदण्ड लागू गर्ने तयारी

जलनका बिरामीले दुर्घटनापछि पहिलो चरणमै उचित उपचार नपाउँदा जटिलता बढ्ने अवस्थालाई सुधार गर्न सरकारले स्वास्थ्यकर्मीको क्षमता विकासदेखि देशव्यापी उपचार मापदण्ड लागू गर्नेसम्मका विषयमा छलफल अघि बढाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बिहीबार जलन उपचार क्षेत्रमा कार्यरत चिकित्सक तथा अभियान्तासँग भेट गरी स्थानीय स्वास्थ्य संस्थादेखि संघीय अस्पतालसम्मको सेवा प्रणालीलाई व्यवस्थित बनाउने उपायबारे परामर्श गर्नुभएको हो।

भेटमा नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरका डा. किरण नकर्मी, डा. शंकरमान राई र जलन अभियान्ता उज्जल थापा सहभागी हुनुहुन्थ्यो। छलफल जलन उपचारको वर्तमान अवस्था, बिरामीले भोगिरहेका समस्या र तत्काल सुधार गर्नुपर्ने क्षेत्रहरूमा केन्द्रित रहेको मन्त्रालयले जनाएको छ।

प्राथमिक उपचारदेखि विशेषज्ञ सेवासम्म जोड

विशेषज्ञहरूले जलन भएको सुरुवाती समय बिरामीको उपचार र पुनःस्थापनाका लागि अत्यन्त महत्वपूर्ण हुने भन्दै प्राथमिक उपचारसम्बन्धी सही ज्ञान स्वास्थ्यकर्मी तथा उद्धार सेवामा विस्तार गर्नुपर्ने बताएका थिए। स्थानीय स्वास्थ्य चौकी, एम्बुलेन्स सेवा, जिल्ला अस्पताल, प्रदेश अस्पताल र संघीय तहका स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिलाई जलन व्यवस्थापनसम्बन्धी विशेष तालिम दिनुपर्ने आवश्यकता पनि औंल्याइएको थियो।

देशका विभिन्न स्वास्थ्य संस्थामा जलनका बिरामीको उपचार पद्धति फरक–फरक रहेको अवस्थालाई अन्त्य गर्न एकीकृत ‘स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल’ तयार गरी कार्यान्वयन गर्ने विषयमा समेत छलफल भएको छ। यस्तो मापदण्डले बिरामीको प्रारम्भिक परीक्षण, उपचार, संक्रमण नियन्त्रण, रेफरल र विशेषज्ञ सेवासम्मको प्रक्रियालाई वैज्ञानिक तथा एकरूप बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विज्ञापनविकिबिजि

छलफलमा सामान्य प्रकृतिका जलनको उपचार स्थानीयस्तरमै सम्भव बनाउने, थप उपचार आवश्यक बिरामीलाई प्रदेशस्तरमा पठाउने र गम्भीर अवस्थाका बिरामीलाई समयमै विशेषज्ञ अस्पतालमा रेफर गर्ने संयन्त्र विकास गर्नुपर्नेमा जोड दिइएको थियो। उपचार केन्द्रबीचको समन्वय कमजोर हुँदा बिरामीले समयमै सेवा नपाउने जोखिम रहेकाले तीनै तहको जिम्मेवारी स्पष्ट बनाउनुपर्ने सुझाव पनि दिइएको छ।

नीति सुधार र सहकार्यमा सरकारको जोड

मन्त्री मेहताले जलन उपचारलाई स्वास्थ्य सेवाको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाइने बताउनुभयो। प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म बिरामीको सहज पहुँच सुनिश्चित गर्ने प्रणाली निर्माणमा मन्त्रालय केन्द्रित हुने उहाँको भनाइ थियो।

उहाँले यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विशेषज्ञ संस्था, चिकित्सक र अभियान्तासँगको सहकार्यलाई थप प्रभावकारी बनाइने पनि उल्लेख गर्नुभयो।

भेटमा जलनका घटना न्यूनीकरणका लागि जनचेतना विस्तार, उपचार सेवाको गुणस्तर सुधार, स्वास्थ्यकर्मीलाई व्यावहारिक तालिम तथा उपचार मापदण्डको प्रभावकारी कार्यान्वयनबारे पनि छलफल भएको थियो। नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरले हासिल गरेको प्राविधिक अनुभव र विशेषज्ञतालाई राष्ट्रिय उपचार प्रणालीमा उपयोग गर्ने सम्भावनाबारे समेत विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

जलन उपचार सेवालाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधार, स्वास्थ्य संस्थाहरूबीचको समन्वय र आगामी सहकार्यका क्षेत्र पहिचान गर्ने विषयमा छलफल जारी राख्ने सहमति भएको छ।