सातै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने सरकारको तयारी

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
सातै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने सरकारको तयारी

जलनका बिरामीले उपचारका लागि सीमित अस्पताल धाउनुपर्ने अवस्था अन्त्य गर्दै प्रदेशस्तरमै प्रभावकारी सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयारी अघि बढाएको छ। मन्त्रालयले जलन उपचारसँगै अस्पतालमा उपलब्ध मनोसामाजिक परामर्श सेवालाई पनि व्यवस्थित र सहज बनाउने योजना अघि सारेको हो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा नवनियुक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको भर्चुअल बैठकमा देशभर सञ्चालनमा रहेका जलन उपचार सेवाको अवस्था समीक्षा गरिएको छ।

बैठकमा प्रतिष्ठानहरूले आफ्ना संस्थामा उपलब्ध उपचार सेवा, जनशक्ति, पूर्वाधार, उपकरण तथा स्रोत–साधनबारे जानकारी गराएका थिए। सेवा सञ्चालनका क्रममा देखिएका समस्या र आगामी दिनमा गर्नुपर्ने कामबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

जलन उपचारलाई प्रभावकारी बनाउन प्रत्येक प्रदेशमा आवश्यक विशेषज्ञ जनशक्ति, तालिम, उपचार कक्ष, उपकरण, औषधि र अन्य स्रोतको विस्तृत नक्साङ्कन गरिने भएको छ। सोही विवरणका आधारमा प्रदेशअनुकूल कार्ययोजना बनाएर कार्यान्वयन गर्ने सहमति बैठकमा भएको छ।

बैठकले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भइरहेका मनोसामाजिक परामर्श केन्द्रलाई थप सेवामुखी बनाउने निर्णय पनि गरेको छ। अस्पताल पुग्ने बिरामी तथा उनीहरूका परिवारलाई उपलब्ध परामर्श सेवाबारे स्पष्ट जानकारी दिने र आवश्यक व्यक्तिले सहज रूपमा सेवा पाउने व्यवस्था मिलाउन प्रतिष्ठानहरूलाई निर्देशन दिइएको छ।

विज्ञापनविकिबिजि

मन्त्री मेहताले जलन उपचार र मानसिक स्वास्थ्य सेवा दुवैको पहुँच तथा गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको बताएकी छन्। सातै प्रदेशमा सेवा विस्तार र सुदृढीकरणका लागि आवश्यक समन्वय तथा कार्यान्वयनलाई तीव्र बनाइने उनको भनाइ छ।