काभा बिच भलिबलमा नेपाललाई रजत पदक
भुटानको थिम्पुमा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) बिच भलिबलमा नेपालले महिलातर्फ रजत पदक जितेको छ। सुनिता राई र भावना डाँगीको जोडीले फाइनलसम्म प्रभावशाली यात्रा गरे पनि निर्णायक खेलमा भारतसँग पराजित हुँदा नेपाल स्वर्ण पदक नजिक पुगेर रोकिएको हो।
आइतबार भएको फाइनलमा नेपाली जोडीले भारतका दीपिका र पवित्राको जोडीविरुद्ध सुरुआत भने बलियो गरेको थियो। सुनिता र भावनाले पहिलो सेट २१–१७ ले आफ्नो पक्षमा पार्दै उपाधितर्फ राम्रो संकेत गरेका थिए।
त्यसपछि भने खेलको लय फेरियो। भारतीय जोडीले दोस्रो सेटमा पुनरागमन गर्दै २१–१५ को जित निकाल्यो। एक–एक सेट बराबरी भएपछि स्वर्ण पदकको टुंगो तेस्रो तथा निर्णायक सेटबाट लागेको थियो।
निर्णायक सेटमा भारत हाबी भयो। दीपिका–पवित्राको जोडीले १५–५ ले सेट जितेसँगै स्वर्ण पदक आफ्नो नाममा लेखायो भने नेपालकी सुनिता र भावनाले रजत पदकमा प्रतियोगिता टुंग्याए।
महिलातर्फ नेपालबाट अर्को टोलीका रूपमा कमला पुन र कोपिला रानाको जोडी पनि प्रतिस्पर्धामा थियो। उनीहरूको यात्रा सेमिफाइनलमा रोकिएको थियो। कमला–कोपिलालाई पनि फाइनल विजेता भारतीय दीपिका–पवित्राकै जोडीले पराजित गरेको थियो।
पुरुषतर्फ भने श्रीलंकाले उपाधि जित्यो। नेपालबाट महेन्द्र श्रेष्ठ–राजकुमार निरौला र झमनसिंह दर्जी–शरण कार्की गरी दुई जोडीले प्रतिस्पर्धा गरेका थिए। दुवै नेपाली टोली सेमिफाइनलमा स्थान बनाउन असफल रहे।
थिम्पुमा भएको प्रतियोगितामा नेपालले महिला र पुरुषतर्फ समान दुई–दुई टोली गरी चार जोडी उतारेको थियो। तीमध्ये सुनिता र भावनाको जोडीले फाइनलसम्म पुग्दै नेपालका लागि रजत पदक सुनिश्चित गरेको हो।

