विराटनगरमा मालपोत अगाडि भेटियो नवजात शिशु, अस्पतालमा उपचार
विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि बेवारिसे अवस्थामा भेटिएको नवजात शिशुलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ।
करिब दुईदेखि तीन दिनको जस्तो देखिने छोरा शिशु उक्त स्थानमा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उद्धार गरेको हो। शिशुलाई तत्काल उपचार तथा स्वास्थ्य परीक्षणका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
अस्पतालमा उपचाररत शिशुको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।
जन्मिएको केही दिनमै सार्वजनिक स्थानमा शिशु छाडिएको घटनापछि प्रहरीले त्यसको कारण र संलग्न व्यक्तिको खोजी सुरु गरेको छ। नवजात शिशुलाई मालपोत कार्यालय अगाडि कसले ल्याएर छाड्यो र त्यसपछाडिको कारण के हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

