मन्त्री मेहताद्वारा बूढानीलकण्ठ आयुर्वेद केन्द्रको अनुगमन

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
मन्त्री मेहताद्वारा बूढानीलकण्ठ आयुर्वेद केन्द्रको अनुगमन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई विशिष्ट स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न सेवा विस्तारसँगै प्रभावकारी प्रचार र गुणस्तर सुधार आवश्यक रहेको बताएकी छन्।

केन्द्रको आज अनुगमन गर्दै मन्त्री मेहताले त्यहाँ उपलब्ध आयुर्वेद, पञ्चकर्म तथा योग सेवा, भौतिक पूर्वाधार र आगामी योजनाबारे जानकारी लिएकी हुन्। अनुगमनका क्रममा केन्द्रको समग्र विकास, सेवाको पहुँच विस्तार र उपचारको गुणस्तर अभिवृद्धिका विषयमा केन्द्रका अधिकारीसँग छलफल भएको थियो।

विज्ञापन
khoj2

उनले केन्द्रमा उपलब्ध सेवा र त्यसका विशेषताबारे आमनागरिकसम्म पर्याप्त सूचना पुग्न नसकेको उल्लेख गर्दै प्रभावकारी जानकारी प्रवाहमा ध्यान दिन आग्रह गरिन्। केन्द्रलाई आयुर्वेद, पञ्चकर्म र योग सेवाको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गर्न सके धेरै नागरिकले यहाँबाट लाभ लिन सक्ने उनको भनाइ थियो।

मन्त्री मेहताले केन्द्र परिसरको प्राकृतिक सौन्दर्य र हरियालीलाई यसको महत्वपूर्ण विशेषताका रूपमा संरक्षण गर्नुपर्नेमा पनि जोड दिइन्। वातावरणीय पक्षलाई थप व्यवस्थित र आकर्षक बनाउन मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

केन्द्र परिसरलाई औषधीय जडीबुटीको उत्पादन र संरक्षणसँग पनि जोड्न सकिने भन्दै उनले स्थानीय रूपमा पाइने हर्रो, बर्रो र बोजोलगायतका वनस्पतिको खेती तथा उपयोगलाई प्रोत्साहन गर्नुपर्ने बताइन्। त्यसका लागि आवश्यक सहजीकरण र सहयोग मन्त्रालयबाट उपलब्ध गराइने उनको भनाइ थियो।

आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सालाई नेपालको स्वास्थ्य प्रणालीको महत्वपूर्ण हिस्साका रूपमा थप सुदृढ बनाउने सरकारको नीति रहेको उल्लेख गर्दै मन्त्री मेहताले नागरिकलाई गुणस्तरीय, प्रभावकारी र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।