पर्वतमा १० तोला सुन चोरी, गरगहनासहित युवक पक्राउ

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
पर्वतमा १० तोला सुन चोरी, गरगहनासहित युवक पक्राउ

घरको सुत्ने कोठाबाट चोरी भएको करिब १० तोला सुनका गरगहनासहित पर्वतमा एक युवक पक्राउ परेका छन्। मोदी गाउँपालिका–२ पातिचौरस्थित एक होटल सञ्चालकको घरमा भएको चोरीको घटनापछि खोजीमा खटिएको प्रहरीले उनलाई सुनसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पातिचौरस्थित देउराली होटलका सञ्चालक दिनेशकुमार पुनको घरबाट विभिन्न प्रकारका सुनका गरगहना चोरी भएका थिए। चोरी भएको सुनको परिमाण करिब १० तोला रहेको जनाइएको छ।

विज्ञापन
khoj2

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक दिनेश पौडेलको नेतृत्वमा ६ सदस्यीय टोली अनुसन्धान तथा खोजतलासमा खटिएको थियो।

खोजीका क्रममा मोदी गाउँपालिका–६ उपल्लो डिमुवाबाट मोदी गाउँपालिका–५ बाजुङका करिब ३० वर्षीय खड्क बहादुर कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट चोरी भएको भनिएको करिब १० तोला सुनका गरगहना समेत बरामद गरिएको छ।

कुँवरलाई हाल जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ। घटनामा उनको संलग्नता, चोरीको परिस्थिति तथा अन्य सम्भावित पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।