गणेश नेपालीको निधन
काठमाडौंमा आत्मदाह प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
वीर अस्पतालको बर्न आइसियुमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिएका छन्।
परिवारको दैनिक गुजारा चलाउन राइड सेयरिङ सेवा पठाओमार्फत काम गर्दै आएका गणेशको मृत्युले एउटा विपन्न परिवारको सहारा मात्र खोसिएको छैन, काठमाडौंमा जीविकोपार्जनका लागि संघर्ष गरिरहेका श्रमिकले सामना गर्नुपर्ने आर्थिक दबाब, जरिवाना प्रणाली र राज्यका निकायको व्यवहारमाथि पनि गम्भीर प्रश्न उठाएको छ।
आत्मदाह प्रयासबाट गणेशको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको थियो। आगोले उनको अनुहारसँगै श्वासप्रश्वास नलीमा समेत गम्भीर क्षति पुर्याएको थियो।
उनलाई वीर अस्पतालको बर्न आइसियुमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। अस्पतालले यसअघि पत्रकार सम्मेलन गर्दै उनको स्वास्थ्य अवस्था अत्यन्त अस्थिर रहेको र जुनसुकै समयमा थप जटिलता आउन सक्ने जानकारी गराएको थियो।
उपचारमा संलग्न चिकित्सकहरूले श्वासप्रश्वास नलीमा पुगेको क्षति र शरीरको ठूलो भाग जलेका कारण उनलाई बचाउन निकै चुनौतीपूर्ण रहेको बताएका थिए।
गणेशको उपचारका लागि अस्पतालले प्लास्टिक सर्जरी विभागका संयोजक डा. पीयूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष टोली परिचालन गरेको थियो। टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहभागी थिए।
उनलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारीसमेत गरिएको थियो। तर स्वास्थ्य अवस्था स्थिर नभएकाले स्थानान्तरण गर्न सम्भव नभएको अस्पतालले जनाएको थियो। चिकित्सकहरूको प्रयासका बाबजुद अन्ततः उनको उपचारकै क्रममा निधन भएको हो।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
गणेश नेपालीको पीडादायी वास्तविकता
ताजा
गणेश नेपाली घटनाबारे कुलमानले के भने?
ट्राफिक जरिवाना नतिर्ने २.६१ लाख चालकलाई यातायात सेवा रोक्का
अर्जेन्टिनालाई रेफ्रीले जिताएको आरोप, फिफामा इजिप्टको उजुरी
‘बालेनको पुलिस होइनौं’ भनेपछि डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए
घाटामा रहेको आयल निगममा कर्मचारीलाई भने बोनसै बोनस
उपत्यकामा २,०७६ चालक कारबाहीमा, १९ लाख बढी राजस्व संकलन