बाढी प्रभावित नुवाकोट र रसुवा पुगे राष्ट्रपति पौडेल

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
बाढी प्रभावित नुवाकोट र रसुवा पुगे राष्ट्रपति पौडेल

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षति र प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति रामचन्द्र पौडेल सोमबार नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेका छन्। स्थलगत अवलोकनका क्रममा उनले पीडित परिवारसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोगिरहेको समस्या र गुनासा सुने।

बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धारको अवस्था, मानवीय र भौतिक क्षति तथा प्रभावित क्षेत्रमा भइरहेका प्रयासबारे राष्ट्रपति पौडेलले जिल्ला सुरक्षा समितिबाट जानकारी लिएका छन्।

विज्ञापन
khoj2

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा समितिका सदस्यहरूले राष्ट्रपति पौडेललाई रसुवाको बाढीका कारण नुवाकोटमा परेको असर र धनजनको क्षतिको विवरण प्रस्तुत गरेका थिए। प्रभावित नागरिकले पनि भोटेकोशीमा अचानक आएको बाढीले आफ्नो जनजीवन र सम्पत्तिमा पुर्‍याएको क्षतिबारे राष्ट्रपतिसमक्ष प्रत्यक्ष जानकारी गराएका थिए।

स्थलगत भ्रमणका क्रममा राष्ट्रपति पौडेल नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको क्याम्पमा समेत पुगे। त्यहाँ उनले बाढीपछिको अवस्था र खोज तथा उद्धारसँग सम्बन्धित गतिविधिबारे जानकारी लिएका थिए।

राष्ट्रपति पौडेलले सोमबार नै रसुवाका बाढी प्रभावित क्षेत्रको पनि अवलोकन गरेका छन्। भोटेकोशीको बाढीपछि प्रभावित क्षेत्रमा बेपत्ताको खोजी र उद्धारसँगै क्षतिको विवरण संकलन तथा पीडितको तत्कालीन आवश्यकतासँग सम्बन्धित काम भइरहेका छन्।