फर्पिङमा ३४ लाखको अवैध सुर्तीजन्य पदार्थ बरामद, एक जना पक्राउ

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
फर्पिङमा ३४ लाखको अवैध सुर्तीजन्य पदार्थ बरामद, एक जना पक्राउ

काठमाडौंको फर्पिङ चेकपोस्टमा प्रहरीले बिल–बीजकबिनाको ठूलो परिमाणको सुर्तीजन्य पदार्थसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। रौतहटबाट काठमाडौं आउँदै गरेको गाडी जाँच गर्ने क्रममा करिब ३४ लाख २२ हजार रुपैयाँ मूल्य बराबरको रजनीगन्धा पान मसला फेला परेको हो।

प्रहरीका अनुसार भदौ ७ गते राति करिब २ः३० बजे दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ चेकपोस्टमा बा.प्र. ०१–०३० च ०५८३ नम्बरको गाडी जाँच गरिएको थियो। इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले गाडीमा ल्याइएका सामानको कागजात माग्दा पान मसलासँग सम्बन्धित बिल–बीजक देखाउन नसकिएको बताइएको छ।

विज्ञापन
khoj2

चेकजाँचका क्रममा गाडीबाट करिब ४ हजार ४८० प्याकेट रजनीगन्धा पान मसला बरामद गरिएको छ। बरामद सामानको अनुमानित मूल्य ३४ लाख २२ हजार १८२ रुपैयाँ रहेको प्रहरीको विवरण छ।

उक्त सामानसँगै प्रहरीले रौतहटको बौधीमाई नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका २३ वर्षीय चन्दन जैसवाललाई नियन्त्रणमा लिएको छ।

प्रहरीले बरामद सामान र नियन्त्रणमा लिइएका जैसवाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको जनाएको छ।