एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल हुदै
पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पीएमएनसी) नेपाल फल २०२६ को ग्रान्ड फाइनल भदौ ६ र ७ गते काठमाडौंमा हुने भएको छ।
दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न पब्जी मोबाइल टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिता ‘रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको आयोजकको भनाइ छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितातर्फ अघि बढ्ने अवसर पाउने बताइएको छ।
प्रतियोगिताको प्रवर्द्धक एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ। कम्पनीले यसअघि पनि नेपालमा क्रिकेटलगायत विभिन्न खेलकुद गतिविधिमा प्रायोजन तथा सहकार्य गर्दै आएको जनाएको छ।
दुईदिने ग्रान्ड फाइनलबाट प्रतियोगिताको विजेता टोलीको टुंगो लाग्नेछ। साथै, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्वका लागि अघि बढ्न सक्ने टोलीको प्रदर्शनसमेत प्रतियोगिताको मुख्य चासो रहनेछ।

