धरौटीमा छुटे मेयर राजेशमान सिंह

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
धरौटीमा छुटे मेयर राजेशमान सिंह

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले उनीविरुद्ध दर्ता भएका दुई फरक कसुरसम्बन्धी मुद्दामा कुल ४ लाख १५ हजार रुपैयाँ धरौटी तोकेको हो।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लिखतसम्बन्धी कसुरमा ४ लाख रुपैयाँ र झुटा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा १५ हजार रुपैयाँ धरौटी माग गरेको अदालत स्रोतले जनाएको छ।

अदालतको आदेशपछि मेयर सिंहले धरौटी रकम बुझाउने प्रक्रिया अघि बढाएका छन्।

के आरोप छ मेयर सिंहमाथि?

अभियोग अनुसार अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर जन्मदर्ता गराइएको र त्यसकै आधारमा नागरिकता तथा राहदानी बनाउने प्रक्रिया अगाडि बढाइएको आरोप मेयर सिंहमाथि छ।

यही घटनासँग सम्बन्धित विषयमा सरकारी कागजातमा गलत विवरण प्रयोग गरिएको भन्दै लिखतसम्बन्धी कसुर र झुटा विवरण पेस गरी नागरिकता प्राप्त गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको हो।

विज्ञापनविकिबिजि

मुद्दामा मेयर सिंहसँगै रिता भट्टराई तथा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायको नाम पनि जोडिएको छ।

पक्राउपछि अदालतमा उपस्थित

पर्सा जिल्ला अदालतले केही दिनअघि सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि प्रहरीको विशेष टोलीले उनलाई पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको थियो।

प्रहरीले अदालतको आदेशअनुसार अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

अझै टुंगिएको छैन मुद्दा

धरौटीमा रिहा हुने आदेश आएको भए पनि सिंहविरुद्धको मुद्दा समाप्त भएको भने होइन। अदालतमा अब मुद्दाको नियमित सुनुवाइ र कानुनी प्रक्रिया अगाडि बढ्नेछ।

अभियोजन पक्षले सरकारी तथा सार्वजनिक लिखतमा किर्ते गरेको आरोपमा मुलुकी अपराध संहिताअनुसार कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको छ।