रसुवा बाढीमा बगेका सात जनाको शव फेला
रसुवाबाट आएको बाढीले बगाएका सात जनाको शव नुवाकोट र धादिङमा फेला परेको छ। बुधबार खोजी तथा उद्धारका क्रममा नुवाकोटमा तीन र धादिङमा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिपक रेग्मीका अनुसार बुधबारसम्म सात जनाको शव फेला परेको हो।
बुधबार बिहान करिब ९ बजे रसुवाको टिमुरे क्षेत्रमा अचानक बाढी आएको थियो। तिब्बत क्षेत्रबाट भोटेकोशी हुँदै आएको बाढीले तल्लो तटीय क्षेत्रमा समेत प्रभाव पारेको छ। बाढीको बहाव नुवाकोट र धादिङ हुँदै चितवनलगायत क्षेत्रका नदीसम्म पुगेको छ।
बाढीपछि प्रभावित क्षेत्रमा खोजी र उद्धारलाई तीव्र बनाइएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य भइरहेको छ।
माथिल्लो क्षेत्रबाट आएको बाढी क्रमशः तल्लो भूभागतर्फ पुगेपछि नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ। घटनाको क्षति र प्रभावित अवस्थाबारे सुरक्षा निकायले विवरण संकलनसँगै खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

