ल्हेन्देमा बाढी, रसुवागढीको उत्पादन बन्द
लगातारको वर्षापछि ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदोसहितको बाढी आउन थालेपछि १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरेको छ। गत वर्षको बाढीबाट ठूलो क्षति बेहोरेको आयोजनाले सम्भावित जोखिमबाट संरचना जोगाउन आइतबार साँझदेखि सुरुङतर्फ पानी पठाउने गेट बन्द गरेको हो।
रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार खोलाको बहावमा आएको परिवर्तनलाई ध्यानमा राख्दै पूर्वसावधानीस्वरूप उत्पादन रोकिएको हो। पानीको अवस्था सामान्य र सुरक्षित देखिए उत्पादन पुनः सञ्चालन गरिने उनले बताएका छन्।
आयोजनाका प्राविधिक टोलीले ल्हेन्दे खोलाको बहाव निरन्तर निगरानी गरिरहेको छ। रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाले जोखिम कम भएको सुनिश्चित भएपछि विद्युत् उत्पादन सुरु गर्ने तयारी रहेको जानकारी दिए।
गत वर्ष असार २४ गते यही खोलामा आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा गम्भीर क्षति पुर्याएको थियो। लामो समय लगाएर मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी आयोजना पुनः सञ्चालनमा ल्याइएको थियो। विगतको क्षति दोहोरिन नदिन यसपटक पानीको बहाव बढ्नासाथ उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ।
भन्सार यार्डका सवारी सुरक्षित स्थानमा सारिए
ल्हेन्दे खोलासँगै भोटेकोशी नदीको बहाव पनि बढ्न थालेपछि रसुवागढी भन्सार यार्डमा राखिएका मालवाहक तथा नयाँ आयातित सवारीसाधन सुरक्षित स्थानमा सारिएका छन्।
भन्सार यार्डको उत्तरी क्षेत्रबाट बाढी पस्न सक्ने जोखिम रहेको सुरक्षाकर्मीले बताएका छन्। चालकहरूले यार्डको सुरक्षा थप मजबुत बनाउन र नदीतर्फ प्रभावकारी तटबन्ध निर्माण गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिसँग माग गरेका छन्।
गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले ल्हेन्दे खोला र भोटेकोशी नदी आसपास नजान तथा नदी किनारमा सवारीसाधन नराख्न स्थानीयवासी र चालकलाई आग्रह गरेका छन्।
मैलुङ सडक जोखिममा, पुरानो मार्ग प्रयोग गर्न आग्रह
आइतबार साँझ आएको हल्का बाढीबाट मैलुङ सडकखण्ड जोखिममा परेको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार मैलुङबाहेक अन्य क्षेत्रमा उल्लेखनीय क्षतिको विवरण प्राप्त भएको छैन।
सडकको अवस्था सुरक्षित नभएकाले केरुङतर्फ आवतजावत गर्ने सवारीलाई मैलुङ मार्ग प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रशासनले बेत्रावती–कालिकास्थान–धुन्चे–स्याफ्रुबेँसी हुँदै रसुवागढी पुग्ने पुरानो सडकबाट यात्रा गर्न अनुरोध गरेको हो।
प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले वर्षाका कारण नदी, खोला र खोल्सामा पानीको बहाव बढिरहेकाले जोखिमयुक्त क्षेत्रबाट टाढा रहन र यात्रा गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
कुनै स्थानमा बाढी, पहिरो वा अन्य विपद्को अवस्था देखिए आपत्कालीन निःशुल्क नम्बर १२३४ मा तत्काल जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ताजा
बागलुङमा घरको पर्खाल भत्किँदा पाँच वर्षीय बालकको मृत्यु
ताजा
गणेशकी श्रीमतीलाई गृहमन्त्री गुरुङले गरे नागरिकता हस्तान्तरण
ताजा
गणेश नेपालीको परिवार र सरकारबीच ९ बुँदे सहमति, के–के छन् समझदारीका विषय?
ताजा
सुकुमबासीको अवस्था बुझ्न होल्डिङ सेन्टर पुगे गृहमन्त्री सुधन गुरुङसहित ६ मन्त्री
गणेश नेपालीको निधन
गणेश नेपालीको पीडादायी वास्तविकता
गणेश नेपाली घटनाबारे कुलमानले के भने?