१९औँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले शुभकामना सन्देश जारी गर्दै सुशासन, विकास, समृद्धि र राष्ट्रिय एकतालाई बलियो बनाउन सबै पक्षले मिलेर काम गर्नुपर्ने बताएका छन्।
राष्ट्रपति पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई प्रभावकारी बनाउँदै जनमुखी सेवा प्रवाह, सुशासन र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। संविधानले परिकल्पना गरेको सामाजिक न्याय, समावेशी विकास र आर्थिक समृद्धिका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
उनले गणतन्त्र स्थापनाका लागि योगदान गर्ने राजनीतिक दल, आन्दोलनमा सहभागी नागरिक तथा सहिदहरूप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय एकता, आपसी विश्वास र सहकार्यको भावना अझ बलियो बनाउने अवसरका रूपमा गणतन्त्र दिवसलाई लिन आग्रह गरेका छन्।
लोकतन्त्रलाई थप जीवन्त बनाउनुपर्ने उपराष्ट्रपतिको जोड
यस्तै उपराष्ट्रपति यादवले लोकतन्त्रलाई अझ जीवन्त, उत्तरदायी र जनमुखी बनाउन दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्। संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात् गर्न सके मात्र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था थप सुदृढ हुने उनको भनाइ छ।
उपराष्ट्रपति यादवले गणतन्त्र दिवस उत्सव मात्र नभई आत्ममूल्यांकनको अवसर पनि भएको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार शासन प्रणाली सञ्चालन भइरहेको छ कि छैन भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताएका छन्। उनले वञ्चित, उत्पीडित र उपेक्षित समुदायको सहभागिताबिना गणतन्त्र बलियो हुन नसक्ने धारणा पनि राखेका छन्।
दुवै नेताले गणतन्त्र स्थापना नेपाली जनताको लामो संघर्ष, जनआन्दोलन र सहिदहरूको बलिदानको परिणाम भएको स्मरण गर्दै लोकतन्त्र, संघीयता, समावेशिता र संविधानका उपलब्धिहरूको रक्षा गर्न सबैलाई आह्वान गरेका छन्।