राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन विस्तार र नेतृत्व पुनर्संरचनाको अभियानलाई प्रदेश तहमा पुर्याउँदै बागमती प्रदेशबाट पहिलो प्रदेश अधिवेशन सुरु गरेको छ। वडा, पालिका र अधिकांश जिल्लामा अधिवेशन सम्पन्न गरेपछि पार्टी अब प्रदेश नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरेको हो।
हेटौँडास्थित हिमालयन दरबारमा आयोजना गरिएको अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय गरिएको छ। बागमतीपछि अन्य प्रदेशमा पनि अधिवेशनको प्रक्रिया अघि बढाइने रास्वपाले जनाएको छ।
पहिलो प्रदेश अधिवेशनमै नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने देखिएको छ। बागमती प्रदेश सभापति पदमा वर्तमान सभापति डा. अच्युत्तम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्याल मुख्य दाबेदारका रूपमा देखिएका छन्। स्थापना कालदेखि प्रदेश नेतृत्व सम्हाल्दै आएका लामिछाने पुनः जिम्मेवारीमा निरन्तरता चाहिरहेका छन् भने अर्यालले नयाँ नेतृत्वको दाबी अघि सारेका छन्।
दुवै पक्षले आफ्नो टिमसहित चुनावी तयारी गरिरहेका कारण अधिवेशनमा नेतृत्व चयन रोचक बन्ने संकेत देखिएको छ। पार्टीभित्र प्रदेश नेतृत्वलाई आगामी संगठनात्मक यात्राको आधार मानिएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ।
उपसभापति पदमा डा. रमेश ढकाल र मेनुका ठकुरीको नाम चर्चामा छ। यस्तै वर्तमान महामन्त्री सुरेन्द्र भट्टले पनि सोही पदमा पुनः निरन्तरताको इच्छा व्यक्त गरेका छन्।
६५ सदस्यीय प्रदेश समिति बन्ने
रास्वपाको विधानअनुसार बागमती प्रदेश कार्यसमिति ६५ सदस्यीय हुनेछ।
- १ जना सभापति
- १ जना उपसभापति
- १ जना महामन्त्री
- २ जना सहमहामन्त्री (फरक–फरक लिङ्गका)
- कोषाध्यक्ष र प्रवक्ता सहित पदाधिकारी टोली
निर्वाचन आवश्यक परे प्रक्रिया दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको चुनाव हुनेछ। त्यसपछि निर्वाचित सदस्यहरूमध्येबाट अन्य पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान गरिने व्यवस्था गरिएको छ।
रास्वपाले प्रदेश तहको नेतृत्व चयनलाई संगठन सुदृढीकरणको महत्वपूर्ण चरणका रूपमा लिएको छ। प्रदेश अधिवेशनहरूको श्रृंखला सकिएपछि पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन असार ६ र ७ गते चितवनमा आयोजना हुने कार्यक्रम रहेको छ।