रसुवा बाढीपीडितका लागि अमेरिकाबाट ४० टन राहत काठमाडौं आइपुग्यो
रसुवामा बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको छ। बाढीपछि सुरक्षित पानी, अस्थायी बसोबास र दैनिक जीवनका आधारभूत सामग्रीको आवश्यकता झेलिरहेका परिवारसम्म सहयोग पुर्याउने गरी राहत सामग्री नेपाल ल्याइएको हो।
राहत प्याकेजमा पानी शुद्धीकरणका लागि फिल्टर, त्रिपाल, कम्बल, सरसफाइसम्बन्धी किट र सौर्य बत्ती समावेश छन्। उपलब्ध सामग्रीबाट बाढी प्रभावित क्षेत्रका करिब २ हजार ६ सय परिवार लाभान्वित हुने जनाइएको छ।
यी सामग्री प्रभावित समुदायमा स्थानीय स्तरमा काम गरिरहेका साझेदार संस्थामार्फत वितरण गरिनेछ। विपद्पछि खानेपानी तथा सरसफाइसँगै सुरक्षित आश्रय र उज्यालोको व्यवस्थापन प्रभावित परिवारका लागि तत्काल आवश्यक विषय बनेका बेला राहत सामग्री आइपुगेको हो।
अमेरिकी दूतावासका अनुसार नेपालको आवश्यकता र प्रभावित समुदायको अवस्थालाई ध्यानमा राखेर सहायता परिचालन गर्न नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग समन्वय भइरहेको छ।
दूतावासले उपलब्ध गराइने सहयोगलाई जीवनरक्षक आवश्यकतासँग जोडेर प्रभावित क्षेत्रसम्म पुर्याउने गरी सहकार्य भइरहेको जनाएको छ।

