गृहमन्त्री सुदन गुरुङसँग भदौ ८ गते नागरिकको प्रत्यक्ष संवाद

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
गृहमन्त्री सुदन गुरुङसँग भदौ ८ गते नागरिकको प्रत्यक्ष संवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री सुदन गुरुङले भदौ ८ गते नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।

पार्टीको केन्द्रीय कार्यालयमा साँझ ५ बजेपछि सुरु हुने कार्यक्रममा सर्वसाधारणले आफ्ना गुनासा, समस्या, सुझाव र अपेक्षा सिधै गृहमन्त्रीसमक्ष राख्न पाउने व्यवस्था गरिएको छ। नागरिकका कुरा सुन्ने र त्यसलाई नीति तथा कार्यान्वयनको तहसम्म पुर्‍याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको पार्टीले जनाएको छ।

विज्ञापन
khoj2

कार्यक्रमलाई दुई चरणमा सञ्चालन गरिनेछ। पहिलो चरण नागरिकसँगको प्रत्यक्ष संवादमा केन्द्रित रहनेछ। यस क्रममा सहभागीले गृह प्रशासनसँग सम्बन्धित विषयसहित आफूले भोगेका समस्या, सुधारका सुझाव तथा सरकारप्रतिको अपेक्षा मन्त्रीसमक्ष राख्न सक्नेछन्।

दोस्रो चरणमा नागरिकबाट आएका विषयलाई लिएर मन्त्री, सांसद र पार्टीको केन्द्रीय नेतृत्वबीच छलफल हुनेछ। उक्त छलफलमा नागरिकका सुझावका साथै समसामयिक राजनीतिक तथा नीतिगत विषयसमेत समेटिने जनाइएको छ।

रास्वपाले भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। नागरिकको आवाजलाई पार्टी र सरकारको नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्य कार्यक्रमको केन्द्रमा रहेको पार्टीको भनाइ छ।

पार्टीले कार्यक्रममा सम्बन्धित सबै पक्षलाई सक्रिय सहभागिता जनाउन तथा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ।