अब राज्य गम्भीर बनोस्, देवानगञ्जको तनाव फेरि नदोहोरियोस्
सुनसरीको देवानगञ्जमा २०८३ साउन १२ गते साँझ करिब ७ बजेदेखि हिन्दु र मुस्लिम समुदायबीच दोहोरो झडप सुरु भएको थियो। करिब दुई घण्टासम्म चलेको उक्त झडपमा धेरै जना घाइते भएका छन् भने केही भौतिक संरचनामा आगजनी र तोडफोड भएको छ।
रातिको समयमा बजार क्षेत्रमा विद्युत् आपूर्ति समेत बन्द भएपछि झडप नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परेको थियो। हामीलाई प्राप्त फोटो तथा भिडियोहरूमा केही स्थानीयको टाउकोमा गम्भीर चोटपटक लागेको देखिन्छ। प्रदर्शनकारीले एउटा पेट्रोल पम्पमा समेत आगजनी गरेको दृश्य प्राप्त भएको छ।
दुवै पक्षका केही स्थानीय घरेलु हातहतियार लिएर सडकमा निस्किएपछि अवस्था अत्यन्त डरलाग्दो बनेको थियो। करिब दुई घण्टासम्म चलेको झडपमा कति जना घाइते भए र कति भौतिक क्षति भयो भन्ने यकिन तथ्यांक हालसम्म सार्वजनिक भइसकेको छैन।
करिब दुई घण्टापछि नेपाली सेनाले अवस्था नियन्त्रणमा लिएको छ भने अहिले वातावरण विस्तारै शान्त बन्दै गएको बताइएको छ। तर कतिबेला के हुने हो भन्ने डरले स्थानीयहरू अझै त्रसित छन्।
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
अवस्था थप भयावह हुन सक्ने देखिएपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोलि बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि विज्ञप्ति जारी गर्दै सबै नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ।
यस्तै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले भिडियो सन्देश जारी गर्दै सरकारलाई जवाफदेही बन्न र नागरिकलाई संयमित रहन आग्रह गरेका छन्।
यदि सरकारले समयमै सुझबुझका साथ आवश्यक कदम चाल्न सकेन भने स्थिति अझै भयावह हुन सक्ने देखिन्छ।
त्यसैले उक्त घटनाका क्रममा गोली चलाउने व्यक्ति वा निकायमाथि निष्पक्ष अनुसन्धान गरी निर्मम कानुनी कारबाहीको प्रक्रिया चाँडोभन्दा चाँडो अघि बढाइनुपर्छ।
प्रधानमन्त्री स्वयंले भिडियो सन्देशमार्फत राष्ट्रलाई सम्बोधन गर्दै राज्यले सबै नागरिकलाई निष्पक्ष व्यवहार गर्छ र दोषीलाई कानुनको दायरामा ल्याउँछ भन्ने भरोसा दिलाउन आवश्यक छ।
देश यस्तो संकटमा परेको बेला प्रधानमन्त्री चुप लागेर वा सामाजिक सञ्जालमा स्टाटस लेखेर मात्रै समाधान हुँदैन।
किनकि अहिलेको अवस्था गृहमन्त्रीले मात्रै धान्न सक्ने सीमाभन्दा बाहिर पुगिसकेको छ।
प्रधानमन्त्री बालेन शाहले के लेखे?
सुनसरीको घटनापछि प्रधानमन्त्री बालेन शाहले आफ्नो आधिकारिक फेसबुकमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। प्रधानमन्त्री शाहले लेखेको स्टाटस जस्ताको तस्तै यस्तो छ—
नमस्कार। मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन। तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो। समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो। मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन। तर पनि घटनाक्रमहरू अशान्त भए।
प्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशको नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुःखी छु। मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। घाइतेहरूको चाँडो स्वास्थ्य ठीक होस् भन्ने कामना गर्दछु। यो घटनाबाट गुमाएका परिवारहरूको दुःख मैले महसुस गरेको छु। सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ। फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु।
यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ। घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ, तर ती पर्याप्त भएनन्। सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए। सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन। यसबारे अनुसन्धान सुरु भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु।
सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ। सम्पूर्ण घटनाका बारेमा सरकारले गम्भीर भएर समीक्षा गरेको छ। फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदममा तपाईंहरूले गम्भीरता र जिम्मेवारी महसुस गर्नुहुनेछ।
मृतकका परिवार, घाइते तथा घाइतेका परिवारलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो पूरा शक्ति लगाएर चाँडोभन्दा चाँडो परिणाम दिनेछ। त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश र बदलाको भावनालाई सबैले रोक्नुहोला। हामीलाई धर्मले सिकाउने पनि त्यही हो।
मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउनु हो। सरकारले यी सबै काम यथासक्य चाँडो गर्नेछ।
फेरि पनि आग्रह गर्छु, मनमा भए पनि तुष, रिस, डर र आक्रोशलाई हटाउनुहोला। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला। सुरक्षित र संयमित भएर बसौँ। एकअर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सद्भाव कायम राखौँ।
प्रधानमन्त्रीको स्टाटस सकारात्मक, तर यतिले मात्रै पुग्दैन
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत गरेको अपिल सकारात्मक छ। स्टाटसमा पीडितलाई न्याय तथा क्षतिपूर्ति दिने, दोषीलाई कारबाही गर्ने र घटनाको अनुसन्धान सुरु भइसकेको उल्लेख गरिएको छ।
तर देश साम्प्रदायिक द्वन्द्वको जोखिममा पुगेको यस्तो गम्भीर समयमा फेसबुकमा स्टाटस लेखेर मात्रै प्रधानमन्त्रीको जिम्मेवारी पूरा हुँदैन।
प्रधानमन्त्रीले तत्काल भिडियो सन्देशमार्फत राष्ट्रलाई सम्बोधन गर्नुपर्छ।
जनताले प्रधानमन्त्रीको अनुहार हेरेर र आवाज सुनेर सरकारको धारणा बुझ्न पाउनुपर्छ। सरकारले घटनालाई सामान्य रूपमा लिएको छैन, गोली चलाउनेमाथि अनुसन्धान हुन्छ, पीडितले न्याय पाउँछन् र कुनै पनि धर्म वा समुदायमाथि पक्षपात हुँदैन भन्ने भरोसा प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा दिलाउनुपर्छ।
प्रधानमन्त्रीले सुरक्षा निकायलाई दिएका निर्देशन, पीडित परिवारका लागि सरकारले घोषणा गर्ने राहत तथा क्षतिपूर्ति, छानबिनको प्रक्रिया र सामाजिक सद्भाव कायम गर्न चालिने कदम स्पष्ट रूपमा सार्वजनिक गर्नुपर्छ।
अहिले नागरिकलाई शान्त रहन आग्रह गर्नु मात्रै पर्याप्त छैन। नागरिक किन आक्रोशित भए, सुरक्षा निकायबाट कहाँ कमजोरी भयो र दोषीमाथि कहिलेसम्म कारबाही हुन्छ भन्ने प्रश्नको जवाफ पनि सरकारले दिनुपर्छ।
रास्वपाका नेता तथा कार्यकर्तालाई अनुरोध
यही समाचार मार्फत सम्पूर्ण रास्वपाका नेता तथा कार्यकर्तालाई पनि अनुरोध गर्न चाहन्छौँ—
देश साम्प्रदायिक तनाव र गृहयुद्धजस्तो संकटको जोखिममा पुगेको बेला सामाजिक सञ्जालमा अन्य कुनै दल वा नेतालाई दोष थोपरेर नागरिकलाई थप आक्रोशित बनाउने काम कसैले नगरौँ।
भनिन्छ नि—
“सके सफा गरौँ, नसके फोहोर नगरौँ।”
सकेसम्म सरकारलाई जवाफदेही बनाउन लागौँ। नसके कम्तीमा चुप लागेर बसौँ।
किनकि तपाईंले सेयर गरेको एउटा अपुष्ट अर्थात् अनभेरिफाइड स्टाटस, फोटो वा भिडियोले घटनास्थलमा कैयौँ मानिसको ज्यान जान सक्छ।
सञ्चारमाध्यमले कति र कसरी देखाउने?
सम्पूर्ण सञ्चारमाध्यमका साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छौँ—
यस्तो संवेदनशील समयमा कति देखाउने, के देखाउने र त्यसलाई देखाउँदा शीर्षक तथा नियत कस्तो राख्ने भन्ने विषयमा एकपटक गम्भीर भएर सोचौँ। त्यसपछि मात्रै समाचार सम्प्रेषण गरौँ।
देश यस्तो संकटमा फसेको बेला सञ्चारमाध्यमले मौका यही हो भन्दै कसैलाई ठोक्ने र कसैलाई बोक्ने नीति लिनु हुँदैन।
हिंसात्मक दृश्य, घाइते तथा मृतकका संवेदनशील तस्बिर र अपुष्ट दाबी प्रकाशन गर्दा त्यसले समाजमा पार्न सक्ने असरबारे पनि ध्यान दिनुपर्छ।
समाचार छिटो दिने प्रतिस्पर्धाभन्दा सत्य, जिम्मेवारी र सामाजिक सद्भावलाई प्राथमिकता दिनुपर्छ।
कन्टेन्ट क्रिएटरहरूले धर्मको पक्ष लिएर सामग्री नबनाऔँ
भर्खरै कन्टेन्ट क्रिएसनमा आउनुभएका तमाम साथीहरूलाई पनि अनुरोध छ—
यस्तो बेला कुनै एउटा धर्म वा समुदायको पक्ष लिएर अर्को धर्म वा समुदायविरुद्ध आक्रोश फैलाउने सामग्री नबनाऔँ।
पहिले सबै मिलेर वातावरण शान्त बनाउनेतर्फ लागौँ।
जब वातावरण पूर्ण रूपमा शान्त हुन्छ, त्यसपछि अन्याय गर्ने जोसुकै भए पनि उनीहरूलाई कारबाही गराउन सबैजना मिलेर आवाज उठाऔँ।
अपराध गर्ने व्यक्तिको कुनै धर्म हुँदैन। केही व्यक्तिले गरेको अपराधको दोष सम्पूर्ण समुदायलाई दिन मिल्दैन।
तराईका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई विनम्र अनुरोध
विशेषगरी तराई क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हाम्रो विनम्र अनुरोध छ—
कृपया तपाईंहरू शान्त भइदिनुहोस्।
हो, त्यस दिन बेलुका जे हुनुहुँदैनथ्यो, त्यही भयो। त्यो अत्यन्त दुःखद घटना थियो।
घटनाको निष्पक्ष छानबिन हुनुपर्छ। छानबिनपछि दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्छ।
तर अहिले आक्रोशमा भइरहेका हिंसात्मक गतिविधिले कुनै पनि पक्षलाई ०.१ प्रतिशत पनि फाइदा पुग्दैन।
यसबाट मृतकको आत्माले शान्ति पनि पाउँदैन। बरु थप निर्दोष नागरिकको ज्यान जाने र थप सहिद जन्मिने अवस्था आउन सक्छ।
त्यसैले हामी दुई हात जोडेर विनम्रतापूर्वक आग्रह गर्दछौँ—
सबैजना आ–आफ्नो घरमा बसिदिनुहोस्।
संयमित भइदिनुहोस्।
अपुष्ट सूचना, उत्तेजक स्टाटस तथा काटछाँट गरिएका फोटो र भिडियो सेयर नगर्नुहोस्।
हामी सबै नेपाली हौँ।
भोलि मर्दा–पर्दा चाहिने भनेका आफ्नै छिमेकी हुन्। पुस्तौँदेखि सँगै बसेका छिमेकीहरू धर्मका नाममा एकअर्कासँग नलडौँ।
पहिले वातावरण शान्त बनाऔँ। त्यसपछि घटनाको निष्पक्ष छानबिन र दोषीमाथिको कारबाहीका लागि सबै मिलेर आवाज उठाऔँ।
अहिलेको पहिलो आवश्यकता बदला होइन, मानव जीवनको रक्षा हो।
आक्रोश होइन, संयमता हो।
विभाजन होइन, सामाजिक सद्भाव हो।
