रसुवा बाढीपछि सरकार सक्रिय, सहायता लागि १२३४ मा सम्पर्क
तिब्बततर्फबाट आएको बाढीले रसुवा क्षेत्रमा जोखिम बढाएपछि सरकारले उद्धार, राहत र सम्भावित थप क्षति न्यूनीकरणका लागि सुरक्षा निकायसहित सम्बन्धित संयन्त्रलाई परिचालन गरेको छ। बाढीको प्रभाव तल्लो तटीय क्षेत्रसम्म पुग्न सक्ने आकलन गर्दै नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मका नदी किनारका बासिन्दालाई विशेष सतर्कता अपनाउन भनिएको छ।
प्रधानमन्त्री बालेन शाहका अनुसार प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ। आवश्यकताअनुसार अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी पठाउने काम अघि बढाइएको छ।
सरकारले तत्काल उद्धारमा मात्र नभई राहत र स्वास्थ्य सेवाको तयारीमा पनि जोड दिएको छ। विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट, रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक काम अघि बढाउन निर्देशन दिइएको प्रधानमन्त्री शाहले जनाएका छन्।
प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र स्वास्थ्य जनशक्ति पठाउने प्रक्रिया पनि सुरु गरिएको छ। उद्धारको आवश्यकता बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर हेलिकप्टरहरू तयारी अवस्थामा राख्न भनिएको छ। निजी हेलिकप्टर कम्पनीलाई समेत आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी तयारी गर्न जानकारी गराइएको छ।
बाढीको जोखिम रसुवामा मात्र सीमित नरहन सक्ने भएकाले सरकारले तल्लो तटीय क्षेत्रलाई प्राथमिकतामा राखेको छ। नुवाकोट र धादिङलगायत जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ।
भोटेकोशी नदीमा आएको बाढीलाई ध्यानमा राख्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी आसपासका बस्तीमा सतर्कता बढाइएको छ। जोखिममा रहेका नागरिकलाई एसएमएस तथा फोनमार्फत सुरक्षित स्थानमा जान सूचना पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालसम्म उद्धार तथा राहतका लागि तीनवटै सुरक्षा निकाय परिचालन, विपद् व्यवस्थापन प्राधिकरण सक्रिय, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने निर्देशन र सम्भावित हवाई उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने गरी मुख्य चार काम तथा तयारी अघि बढाइएको जनाएको छ।
प्रधानमन्त्री शाहले आगामी कदम तय गर्न उच्चस्तरीय बैठक बोलाइएको पनि जानकारी दिएका छन्। बाढीको अवस्था र सम्भावित जोखिमका आधारमा थप निर्णय गरिने सरकारको तयारी छ।
सरकारले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई नदी किनार तथा असुरक्षित स्थानबाट टाढा रहन र सुरक्षित ठाउँमा बस्न आग्रह गरेको छ। आफन्तसँग सम्पर्क हुन नसकेको अवस्थामा सम्बन्धित सरकारी निकायबाट आउने आधिकारिक उद्धार सूचनालाई पछ्याउन पनि अनुरोध गरिएको छ।
उद्धार, राहत तथा थप जानकारी आवश्यक परे १२३४ नम्बरमा सम्पर्क गर्न सकिने प्रधानमन्त्री शाहले जनाएका छन्।

