तिब्बतबाट भोटेकोसीमा ठूलो बाढी, मुग्लिनसम्म उच्च सतर्कता
तिब्बततर्फबाट भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेपछि रसुवादेखि मुग्लिनसम्मका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै भोटेकोसी र त्रिशूली नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न भनिएको छ।
विशेषगरी रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी किनार तथा जोखिममा रहेका बस्तीका परिवारलाई अर्को सूचना नआएसम्म सतर्क रहन आग्रह गरिएको छ। नदीको बहाव र बाढीले तल्लो तटीय क्षेत्रमा समेत असर पुर्याउन सक्ने भएकाले मुग्लिनसम्मको क्षेत्रलाई उच्च जोखिममा राखिएको हो।
सम्भावित जोखिमका बीच खोज तथा उद्धार आवश्यक परेमा वा कुनै किसिमको सहायता चाहिने अवस्था आएमा टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ।
बाढीको जोखिम नदी किनारमा मात्र सीमित नरहने देखिएपछि प्रमुख सडक मार्गमा समेत आवतजावत रोक्न आग्रह गरिएको छ। पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन भनिएको छ। जोखिम कायम रहेका स्थानमा आवतजावत पूर्ण रूपमा रोक्नसमेत अनुरोध गरिएको छ।
नदी तटीय क्षेत्रका बासिन्दालाई अवस्था सामान्य भएको अनुमानका आधारमा घर वा जोखिमयुक्त क्षेत्रमा नफर्कन र आधिकारिक रूपमा अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरिएको छ।

