बाढीको १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार
बाढीपछि त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको अवस्थाबारे नौ दिनसम्म कायम अनिश्चितताबीच दसौँ दिनको बिहान आशा जगाउने खबर आएको छ। उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिसहरूको आवाज सुनेको र हालसम्म दुई जनालाई जीवितै बाहिर निकालिएको जानकारी सार्वजनिक भएको छ।
इन्जिनियर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपाली सेनालाई उद्धृत गर्दै सुरुङभित्रबाट आवाज आएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनका अनुसार उद्धार टोलीले बाहिरबाट ‘हामी तपाईंहरूलाई उद्धार गर्दैछौँ’ भनेर जानकारी गराउँदा भित्रबाट त्यसको प्रतिक्रिया आएको थियो।
यसले लामो समयदेखि सुरुङभित्र सम्पर्कविहीन अवस्थामा रहेका अरू व्यक्तिसमेत जीवित हुन सक्ने आशा बलियो बनाएको छ। न्यौपानेका अनुसार सुरुङबाट सञ्जय शाह र परी महर्जनको जीवितै उद्धार गरिएको छ। बाँकी व्यक्तिसम्म पुग्ने प्रयास जारी छ। उनले अबको केही घण्टा उद्धारका दृष्टिले निकै महत्वपूर्ण हुने बताएका छन्।
सुरुङ क्षेत्रमा सीमित मात्रामा भए पनि पानी र अक्सिजन पुगिरहेको अवस्थाले त्यहाँ फसेका व्यक्तिहरू यति लामो समयसम्म जीवित रहन सक्ने सम्भावना कायम राखेको न्यौपानेको भनाइ छ।
बाहिर निकालिने व्यक्तिलाई तत्काल उपचार उपलब्ध गराउन गृह मन्त्रालयले हेलिकप्टर तयारी अवस्थामा राखेको छ भने मेडिकल टोलीसमेत परिचालनका लागि तयारी अवस्थामा रहेको जानकारी दिइएको छ।

