अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति खुलेर प्रशंसा गरेका छन्। भारतलाई आवश्यक पर्दा अमेरिका सधैं साथमा रहने भन्दै उनले मोदीमाथि आफूलाई पूर्ण विश्वास रहेको पनि बताएका छन्।
अमेरिकाको स्वतन्त्रताको २५० वर्ष पूरा भएको अवसरमा नयाँ दिल्लीस्थित भारत मण्डपमा आइतबार आयोजित कार्यक्रममा फोनमार्फत सम्बोधन गर्दै ट्रम्पले भारतसँगको सम्बन्धलाई विशेष महत्व दिएका हुन्। कार्यक्रममा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले ट्रम्पलाई फोनमार्फत जोडेका थिए।
‘भारतले ममाथि शतप्रतिशत भरोसा गर्न सक्छ’
त्यसक्रममा ट्रम्पले भारतले आफूलाई “शतप्रतिशत भरोसा” गर्न सक्ने बताए। कुनै पनि सहयोग आवश्यक परे भारतलाई कहाँ सम्पर्क गर्ने भन्ने थाहा रहेको भन्दै उनले अमेरिका भारतको साथमा रहने संकेत दिए।
मोदीबारे बोल्दै ट्रम्पले आफू प्रधानमन्त्री मोदीको ठूलो प्रशंसक रहेको बताए। उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई मोदीलाई आफ्नो तर्फबाट नमस्ते भन्नसमेत आग्रह गरेका थिए।
मार्को रुबियोको पनि ट्रम्पद्वारा प्रशंसा
ट्रम्पले मार्को रुबियोलाई अमेरिकाको इतिहासकै उत्कृष्ट विदेशमन्त्रीमध्ये एक बन्ने व्यक्ति भन्दै प्रशंसा गरे। कार्यक्रममा अमेरिकी राजदूत गोरले पनि ट्रम्प र मोदीबीचको सम्बन्ध निकै नजिक रहेको दाबी गरे।
उनका अनुसार ट्रम्पसँग कुराकानी हुँदा सबैभन्दा पहिले मोदीबारे नै प्रश्न आउने गर्छ। उनले भारत–अमेरिका सम्बन्ध केवल कूटनीतिक साझेदारी नभई विश्वासमा आधारित सम्बन्ध भएको बताए।
भारत–अमेरिका सम्बन्धमा जोड
गोरले ‘अमेरिका फर्स्ट’ नीतिको अर्थ अमेरिका मात्र होइन भन्ने स्पष्ट पार्दै दुवै देशले पारस्परिक फाइदाका अवसर खोजिरहेको बताए। यस वर्ष भारतस्थित अमेरिकी दूतावासले अमेरिकामा २०.५ अर्ब डलर लगानी भित्राउन सहयोग गरेको जानकारी पनि उनले दिए।
यता विदेशमन्त्री रुबियोले भारत–अमेरिका सम्बन्ध अझ मजबुत बन्दै गएको बताएका छन्। उनले दुवै देशबीच व्यापार सम्झौता छिट्टै हुने अपेक्षा रहेको पनि बताए। भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए।
ट्यारिफ नीतिका कारण बढ्यो तनाव
रुबियोको भारत भ्रमण यस्तो समयमा भएको हो, जतिबेला ट्रम्प प्रशासनको ट्यारिफ नीतिका कारण भारत–अमेरिका आर्थिक सम्बन्धमा केही तनाव देखिएको छ। अमेरिकी प्रशासनले केही भारतीय उत्पादनमा शुल्क बढाएपछि व्यापारिक चासो बढेको हो।
आतंकवादविरुद्ध ‘शून्य सहनशीलता’
कार्यक्रममा भारतीय विदेशमन्त्री जयशंकरले आतंकवादविरुद्ध भारत र अमेरिका मिलेर काम गरिरहेको बताए। उनले आतंकवादप्रति ‘शून्य सहनशीलता’ अपनाउनुपर्नेमा जोड दिए।
उनले अहिलेको बदलिँदो विश्व परिस्थितिमा भारत–अमेरिका सम्बन्ध झन् महत्वपूर्ण बन्दै गएको उल्लेख गरे। व्यापार, रक्षा, प्रविधि, सेमिकन्डक्टर, कृत्रिम बौद्धिकता, ऊर्जा, अन्तरिक्ष, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा सहकार्य विस्तार भइरहेको पनि उनले बताए।