नेपाल–चीन बाढीप्रति गुटेरेसको दुःख, राहतमा राष्ट्रसंघ सक्रिय

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
नेपाल–चीन बाढीप्रति गुटेरेसको दुःख, राहतमा राष्ट्रसंघ सक्रिय

नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्। बाढीका कारण ठूलो संख्यामा मानिसको ज्यान गएको, कैयौँ बेपत्ता भएको र व्यापक भौतिक क्षति पुगेको घटनाप्रति उनले चिन्ता जनाएका हुन्।

महासचिवका प्रवक्ता स्टेफेन दुजारिकद्वारा जारी विज्ञप्तिमा गुटेरेसले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। विपद्बाट प्रभावित परिवार र समुदायप्रति उनले संयुक्त राष्ट्रसंघको ऐक्यबद्धता रहेको पनि बताएका छन्।

विज्ञापन
khoj2

बाढीपछिको आपत्कालीन अवस्थामा नेपालमा सरकारी नेतृत्वमा भइरहेको प्रतिकार्यलाई संयुक्त राष्ट्रसंघले सहयोग गरिरहेको विज्ञप्तिमा उल्लेख छ। प्रभावित क्षेत्रमा भएको क्षतिको अवस्था बुझ्ने, तत्काल आवश्यकताहरू पहिचान गर्ने र अत्यावश्यक सहायता पुर्‍याउने काममा राष्ट्रसंघीय संयन्त्र सक्रिय रहेको जनाइएको छ।

संयुक्त राष्ट्रसंघीय टोलीसँगै मानवीय सहायता क्षेत्रमा काम गर्ने साझेदार संस्थाहरूले पनि बाढी प्रभावित समुदायसम्म राहत पुर्‍याउन आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेका छन्।

महासचिव गुटेरेसले कठिन परिस्थितिमा नागरिकको जीवन जोगाउन अग्रपङ्क्तिमा खटिएका आपत्कालीन उद्धारकर्मीहरूको भूमिकाको प्रशंसा गरेका छन्। विपद्को असर कम गर्न र प्रभावित समुदायलाई थप सहायता आवश्यक परे संयुक्त राष्ट्रसंघ सहयोगका लागि तयार रहेको प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन्।