एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढीपीडितका लागि १ करोड सहयोग गर्ने
रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीसहित देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको हो। विपद्का कारण प्रभावित परिवारले भोगिरहेको कठिनाइ कम गर्न र सरकारबाट सञ्चालन भइरहेका उद्धार तथा राहत प्रयासमा साथ दिन सहयोगको निर्णय गरिएको कम्पनीको भनाइ छ।
बाढी–पहिरोबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै एक्स्ट्रिम इनर्जी ड्रिंक्सले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना पनि जनाएको छ।
कठिन परिस्थितिमा जोखिम मोलेर उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायको भूमिकाप्रति पनि कम्पनीले सम्मान व्यक्त गरेको छ। राहत तथा व्यवस्थापनमा संलग्न सरकारी र गैरसरकारी निकायको योगदान महत्वपूर्ण रहेको कम्पनीले उल्लेख गरेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले सामाजिक उत्तरदायित्वलाई आफ्नो प्राथमिकतामध्ये एकका रूपमा लिएको बताउँदै राष्ट्रिय संकट र विपद्का समयमा नागरिक तथा समुदायसँग सहकार्य गर्दै आएको जनाएको छ।
आगामी दिनमा पनि आवश्यकताअनुसार देश र नागरिकको हितमा सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

