आज असार १५: देशभर धान रोपाइँसँगै दही–चिउरा खाने पर्व मनाइँदै
नेपाली किसानका लागि वर्षकै सबैभन्दा व्यस्त दिनमध्ये एक। खेतमा धान रोपाइँसँगै हिलोमा रमाउने, असारे भाका गाउने र दही–चिउरा खाएर श्रमको उत्सव मनाउने परम्पराले आजको दिनलाई विशेष बनाएको छ।
कृषिप्रधान नेपालमा असार १५ केवल खेतीपातीको कामसँग जोडिएको दिन मात्र होइन, किसानको श्रम, संस्कृति र जीवनशैलीसँग गाँसिएको पर्व पनि हो। बिहानदेखि खेतमा रोपाइँमा जुटेका किसानले दिनभरको मेहनतपछि दही–चिउरा खाएर थकान मेटाउने गर्छन्। गर्मी मौसममा यसले शरीरलाई शीतल बनाउने र ऊर्जा दिने विश्वास रहिआएको छ।
ग्रामीण क्षेत्रमा मात्र होइन, सहरमा बसोबास गर्ने धेरै नेपालीले पनि असार १५ का अवसरमा दही–चिउरा खाने चलनलाई निरन्तरता दिँदै आएका छन्। नेपाली समाजमा दहीलाई शुभताको प्रतीक मानिन्छ। नयाँ यात्रा, महत्वपूर्ण काम वा शुभ अवसरमा दहीको सगुन खाने परम्परा अझै जीवित छ।
स्वास्थ्यका दृष्टिले पनि दही लाभदायक मानिन्छ। यसमा रहेका उपयोगी जीवाणुले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्ने चिकित्सकहरू बताउँछन्। आयुर्वेदमा समेत भोजनपछि मोही वा दहीजन्य पेय सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिएको उल्लेख पाइन्छ। पखालाजस्ता समस्यामा पनि दही र चिउराको संयोजन उपयोगी हुने विश्वास समाजमा स्थापित छ।
असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने निर्णय नेपाल सरकारले विसं २०६१ मङ्सिर २९ गते गरेको थियो। त्यसअनुसार २०६२ सालदेखि प्रत्येक वर्ष यो दिन राष्ट्रिय धान दिवस मनाइँदै आएको छ। यसको उद्देश्य धान खेतीको महत्व उजागर गर्नुका साथै कृषिप्रति आकर्षण बढाउनु हो।
धान रोपाइँसँगै गाउँघरमा असारे भाका गुञ्जिन्छ। खेतभरि रोपाहार र बाउसेको हाँसो, हिलो छ्यापाछ्याप र लोकगीतले कृषिको कठिन श्रमलाई उत्सवमा रूपान्तरण गरिदिन्छ। यही मौलिक संस्कृतिले असार १५ लाई नेपाली समाजको पहिचान बनाएको छ।
यद्यपि यस वर्ष भने देशका धेरै स्थानमा पर्याप्त वर्षा हुन नसक्दा रोपाइँ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। कतिपय किसानले रासायनिक मल अभावको गुनासो गरिरहेका छन्। सरकारका तर्फबाट भने आवश्यक मल मौज्दात रहेको दाबी गरिएको छ।
कृषकको पसिना, खेतको हरियाली र नेपाली संस्कृतिको सुगन्ध बोकेको असार १५ आज पनि श्रम, उत्पादन र प्रकृतिप्रतिको सम्मानका रूपमा देशभर विविध कार्यक्रमसहित मनाइँदैछ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
नयाँ ट्राफिक विधेयक: ५०० रुपैयाँदेखि १ लाखसम्म जरिवाना
कुर्सीको लडाइँले बर्बाद बनायो नेपाली फुटबलको भविष्य, अब पनि नबोले कहिले?
डोजरपछि अब होल्डिङ सेन्टर पनि खाली, सुकुम्बासी कहाँ जाने?
अबदेखि राष्ट्रिय परिचयपत्र नेपालभित्रै छापिने
ट्राफिकको कडाइ: २४ घण्टामा झण्डै २३ लाख राजस्व संकलन
के ३ लाख भ्युज पुग्नेबित्तिकै फेसबुकमा कन्टेन्ट मोनिटाइजेसन आउँछ ?
प्रहरी हिरासतमा श्रीकृष्ण विकले भोग्नुपरेको नियति