गणेश नेपाली घटनाबारे कुलमानले के भने?
त्रिपुरेश्वरमा राइड–सेयरिङ सेवा चलाएर जीविका धानिरहेका गणेश नेपालीले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको घटनाप्रति उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुक्रबार धारणा सार्वजनिक गर्दै घिसिङले गणेशको घटना एउटा व्यक्तिको आवेगमा सीमित नभई निराशा, आर्थिक दबाब र राज्यका निकायबाट हुने व्यवहारबीच बाँचिरहेका धेरै नेपाली युवाको अवस्थासँग जोडिएको बताएका छन्।
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि पार्किङ गरिएको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक लगाएपछि २५ वर्षीय गणेशले आत्मदाहको प्रयास गरेका थिए।
घिसिङले गणेशलाई नेपाली समाजमा बढिरहेको निराशा र आक्रोशको ‘प्रतिनिधि पात्र’का रूपमा उल्लेख गरेका छन्। रोजगारीको पर्याप्त अवसर नपाएका युवा स्वरोजगार र अनौपचारिक क्षेत्रमा संघर्ष गरिरहँदा राज्यका निकायबाट हुने कठोर व्यवहारले उनीहरूलाई थप हतोत्साहित बनाइरहेको उनको भनाइ छ।
उनले कानुनको पालना गराउनु राज्यको जिम्मेवारी भए पनि त्यसको कार्यान्वयन नागरिकको जीवन, सम्मान र मनोवैज्ञानिक अवस्थाप्रति संवेदनशील हुनुपर्ने बताएका छन्।
“के राज्यको काम केवल कानुन कार्यान्वयन गर्नु मात्र हो, कि नागरिकको जीवन, सम्मान र मानवीय संवेदनाको पनि रक्षा गर्नु हो?” भन्दै घिसिङले सार्वजनिक निकायको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
कानुन आवश्यक भए पनि त्यसको कार्यान्वयनबाट मानवता हराउन नहुने उनको धारणा छ। जीविकोपार्जनका लागि संघर्षरत नागरिकलाई अपराधीसरह व्यवहार गर्ने र गरिब तथा असहाय परिवारलाई सम्मानजनक विकल्प नदिई विस्थापित गर्ने प्रवृत्ति सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने उनले बताएका छन्।
घिसिङले यसअघि बागमती नदी किनारका अव्यवस्थित बसोबासी हटाउने क्रममा भएको इन्द्रबहादुर राईको मृत्युको प्रसंग पनि स्मरण गरेका छन्। दीर्घकालीन योजना, पुनर्स्थापना र सम्मानजनक विकल्पबिना नागरिकलाई हटाउने प्रयासले गम्भीर मानवीय दुर्घटना निम्त्याउन सक्ने उनको चेतावनी छ।
होल्डिङ सेन्टरमा राखिएका परिवारलाई समेत उचित वैकल्पिक व्यवस्था नगरी हटाउने प्रयास भइरहेको समाचारप्रति उनले चिन्ता व्यक्त गरेका छन्। गणेशको घटना र अव्यवस्थित बसोबासी हटाउने विषय बाहिरबाट फरक देखिए पनि दुवै घटनाले राज्यको नीति र व्यवहारमा मानवीय संवेदनाको प्रश्न उठाएको घिसिङको निष्कर्ष छ।
सरकार, स्थानीय तह र सम्बन्धित निकायलाई कुनै पनि कठोर निर्णय लिनुअघि त्यसले नागरिकको जीवनमा पार्ने प्रभावको गम्भीर मूल्यांकन गर्न उनले आग्रह गरेका छन्।
दिगो समाधानका लागि बल प्रयोग वा दण्डभन्दा संवाद, सहकार्य, सम्मानजनक विकल्प र संवेदनशील व्यवहार प्रभावकारी हुने घिसिङको भनाइ छ। कुनै पनि नीति वा अभियानको सफलता नागरिकको पीडा, आँसु अथवा जीवनको मूल्यमा मापन गर्न नहुने उनले उल्लेख गरेका छन्।
यसैबीच गणेशको पक्षमा न्यायको माग गर्दै शुक्रबार माइतीघरमा प्रदर्शनसमेत भएको छ। प्रदर्शनमा सहभागीहरूले बेरोजगार तथा स्वरोजगार युवामाथि गरिने अपमानजनक व्यवहार अन्त्य गर्न र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
घिसिङले गम्भीर घाइते गणेश नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित समाचार
ब्रेकिङ
गणेश नेपालीको निधन
ताजा
गणेश नेपालीको पीडादायी वास्तविकता
ताजा
ट्राफिक जरिवाना नतिर्ने २.६१ लाख चालकलाई यातायात सेवा रोक्का
ताजा
ऊर्जा मन्त्री श्रेष्ठको ‘झ्याप्प–झ्याप्प’ अभियानमा कुलमानको काउन्टर
अर्जेन्टिनालाई रेफ्रीले जिताएको आरोप, फिफामा इजिप्टको उजुरी
‘बालेनको पुलिस होइनौं’ भनेपछि डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए
घाटामा रहेको आयल निगममा कर्मचारीलाई भने बोनसै बोनस