नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ दोषी, कसलाई कति सजाय?
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले मंगलबार मूल मुद्दाका १५ जना र बेचन झाविरुद्धको छुट्टै पूरक मुद्दामा एक जना गरी कुल १६ जनाविरुद्ध सजाय निर्धारण गरेको छ।
सजाय पाउनेमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलगायत रहेका छन्। काठमाडौं जिल्ला अदालतले उनीहरूलाई ठगी, सरकारी लिखत किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुरमा भूमिका र संलग्नताअनुसार फरक–फरक सजाय तोकेको हो।
खैर, अब हेरौँ ती १६ जनाविरुद्ध कुन–कुन कसुरमा कति वर्ष कैद र कति रुपैयाँ जरिवाना तोकिएको छ त?
१. टेकनाथ रिजाल
- सरकारी लिखत किर्तेः १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
- ठगीः १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
- संगठित अपराधः १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना
- राज्यविरुद्धको कसुर, दफा ५१(४): ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना
- दफा ५१(७): थप सजाय छैन
अन्तिम कुल सजायः २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना
२. केशवप्रसाद दुलाल
- सरकारी लिखत किर्तेः २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना
- ठगीः २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना
- संगठित अपराधः ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना
- राज्यविरुद्धको कसुर, दफा ५१(४): १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना
- दफा ५१(७): थप सजाय छैन
अन्तिम कुल सजायः ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
३. सानु भण्डारी

४. सागर राई
- सरकारी लिखत किर्तेः यो कसुरमा सफाइ

५. सन्देश शर्मा

६. डा. इन्द्रजित राई

- दफा ५१(७): ६ महिना थप कैद
अन्तिम कुल सजायः ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
तर डा. राईको हकमा उमेरका कारण विशेष छुट लागू भएको छ। उनी ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक भएकाले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमा ७५ प्रतिशत छुट पाएका छन्।
अदालतको सजाय निर्धारण विवरणअनुसार उनले पुर्पक्षका क्रममा ३ वर्ष २ महिना १० दिन कैद भुक्तान गरिसकेका छन्। चार वर्षमध्ये भुक्तान गर्न बाँकी नौ महिना २० दिनमा ज्येष्ठ नागरिक छुट लागू गर्दा सात महिना सात दिन छुट भएको छ।
त्यसैले अब उनले २ महिना १३ दिन कैद बस्नुपर्ने र ४० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने अदालतको विवरणमा उल्लेख छ।
७. विक्रम भन्ने गोविन्दकुमार चौधरी
- सरकारी लिखत किर्तेः यो कसुरमा सफाइ
- ठगीः २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना
- संगठित अपराधः ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना
- राज्यविरुद्धको कसुर, दफा ५१(४): १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना
- दफा ५१(७): थप सजाय छैन
अन्तिम कुल सजायः ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
८. आङटावा शेर्पा

९. टेकनारायण पाण्डे

१०. टोपबहादुर रायमाझी

११. बालकृष्ण खाण
- सरकारी लिखत किर्तेः यो कसुरमा सफाइ
- ठगीः १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
- संगठित अपराधः १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना
- राज्यविरुद्धको कसुर, दफा ५१(४): ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना
- दफा ५१(७): ३ महिना थप कैद
अन्तिम कुल सजायः २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना
१२. नरेन्द्र के.सी.
- सरकारी लिखत किर्तेः यो कसुरमा सफाइ
- ठगीः ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना
- संगठित अपराधः ९ महिना कैद र ७ हजार ५ सय रुपैयाँ जरिवाना
- राज्यविरुद्धको कसुर, दफा ५१(४): ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना
- दफा ५१(७): थप सजाय छैन
अन्तिम कुल सजायः १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
१३. शमशेर मियाँ

१४. हरिभक्त महर्जन

१५. निरञ्जनकुमार खरेल

सरकारी लिखत किर्तेमा तीन जना मात्रै दोषी
अदालतले सरकारी लिखत किर्तेको कसुरमा टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारीलाई मात्रै दोषी ठहर गरेको हो।
सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी, बालकृष्ण खाण, नरेन्द्र के.सी., शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेलले भने किर्तेको कसुरमा सफाइ पाएका छन्।
१६. बेचन झा—छुट्टै पूरक मुद्दा
बेचन झाविरुद्धको मुद्दा माथिका १५ जनाको मूल मुद्दाभन्दा छुट्टै थियो।
- ठगीसम्बन्धी कसुरको उद्योग अर्थात् प्रयासः १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
- किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसुरलगायत अन्य आरोपः अभियोग दाबी पुष्टि नभएको
बेचन झालाई प्रहरीले २०८१ असार १४ गते शुक्रबार राति नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको थियो। उनी फरार रहेका कारण मुख्य मुद्दाको अनुसन्धान सकिँदासम्म पक्राउ परेका थिएनन्। पछि पक्राउ परेर उनीमाथिको अनुसन्धान पूरा भएपछि छुट्टै अभियोगपत्र दर्ता गरिएको थियो। त्यसैले उनको फैसला पनि मूल मुद्दाका १५ जनाभन्दा छुट्टै रूपमा आएको हो।
छोटकरीमा कसलाई कति अन्तिम सजाय?
- ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना: ९ जना
- २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना: २ जना
- १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना: मूल मुद्दाका ४ जना
- १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना: पूरक मुद्दाका बेचन झा
फरक–फरक कसुरका सबै सजाय किन जोडिएनन्?
खैर, अन्त्यमा तपाईंहरूले बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने माथि फरक–फरक कसुरमा जति सजाय लेखिएको छ, ती सबैलाई सीधै जोडेर अन्तिम सजाय निकालिएको होइन।
एउटै घटनाबाट एकभन्दा बढी कसुर भएको अवस्थामा अदालतले त्यसलाई एकीकृत कसुर मानेर सजाय निर्धारण गर्छ। यस्तो अवस्थामा सामान्यतः सबैभन्दा बढी सजाय भएको कसुरको पूरा सजायमा त्यसपछि दोस्रो बढी सजाय भएको कसुरको आधा सजाय थपेर अन्तिम एकीकृत सजाय कायम गरिन्छ।
उदाहरणका लागि, टेकनाथ रिजाललाई छुट्टाछुट्टै कसुरमा १ वर्ष ६ महिना, १ वर्ष, १ वर्ष र ६ महिनाको सजाय भएको छ। तर ती सबै जोडेर चार वर्ष बनाइएको होइन।
उनको सबैभन्दा बढी सजाय १ वर्ष ६ महिना थियो। त्यसपछि दोस्रो बढी सजाय १ वर्ष भएकाले त्यसको आधा अर्थात् ६ महिना थपियो। यसरी उनको अन्तिम एकीकृत सजाय २ वर्ष कैद कायम भयो।
त्यस्तै, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मालगायतलाई विभिन्न कसुरमा ३ वर्ष, २ वर्ष, २ वर्ष र १ वर्ष ६ महिनासम्मको सजाय भएको छ। उनीहरूको हकमा सबैभन्दा बढी सजाय ३ वर्ष मा दोस्रो बढी २ वर्षको आधा अर्थात् १ वर्ष थपेर अन्तिम सजाय ४ वर्ष कैद कायम गरिएको हो।
त्यसैले छुट्टाछुट्टै कसुरका सबै वर्ष जोडेर सात–आठ वर्ष जेल सजाय भएको बुझ्नु गलत हुन्छ।
अब उनीहरू कति समय जेल बस्छन्?
आज सजाय निर्धारण भएका व्यक्तिले पुर्पक्षका क्रममा पहिले नै कारागारमा बिताएको समय कुल कैद सजायमा गणना हुन्छ। त्यसैले चार वर्ष सजाय तोकिएको व्यक्तिले यसअघि तीन वर्ष जेल बसिसकेको छ भने सामान्यतः उसले बाँकी एक वर्ष मात्रै भुक्तान गर्नुपर्ने हुन्छ।
तर सबै प्रतिवादी एकै दिन पक्राउ परेका छैनन्। कोही सुरुदेखि कारागारमा छन्, कोही धरौटी वा साधारण तारेखमा छुटेका थिए। त्यसैले अब कसले कति समय जेल बस्न बाँकी छ भन्ने हिसाब प्रत्येक व्यक्तिको पक्राउ, थुना, रिहाइ र पुनःथुनाको मितिअनुसार छुट्टाछुट्टै हुन्छ।
जिल्ला अदालतको फैसला नै अन्तिम हो?
तर जिल्ला अदालतको यो फैसला नै अन्तिम भने होइन।
फैसलाप्रति चित्त नबुझ्ने प्रतिवादी वा सरकारी पक्षले कानुनले दिएको समय र प्रक्रियाभित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्छ। त्यसपछि मुद्दाको प्रकृति र कानुनी अवस्थाअनुसार सर्वोच्च अदालतसम्म पनि पुग्न सक्छ।
माथिल्लो अदालतले जिल्ला अदालतको फैसला र सजायलाई सदर गर्न, घटाउन, बढाउन वा उल्ट्याउन सक्छ। त्यसैले आज काठमाडौं जिल्ला अदालतले निर्धारण गरेको सजाय अहिलेको फैसला हो, तर पुनरावेदनपछि अन्तिम परिणाम फरक पनि हुन सक्छ।