यता छानबिन समिति गठन, उता कर्फ्यु तोड्दै प्रदर्शन
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच सुरु भएको विवाद हिंसात्मक बन्दै जाँदा स्थानीय अवस्था अझै संवेदनशील बनेको छ। कर्फ्यु आदेश लागू गरिए पनि प्रदर्शन र तोडफोड नरोकिएपछि सुरक्षा चुनौती थपिएको छ भने घटनाको छानबिनका लागि सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।
आइतबार राति भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि स्थानीय स्तरमा तनाव चर्किएको हो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सर्वसाधारण र सुरक्षाकर्मीसहित दुई दर्जन नजिक व्यक्तिहरू घाइते भएको सुरक्षा निकायको प्रारम्भिक विवरण छ।
स्थिति थप बिग्रिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगञ्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। तर सोमबार बिहानदेखि ठूलो समूह कर्फ्यु उल्लंघन गर्दै सडकमा उत्रिएपछि प्रशासनको चुनौती झन् बढेको देखिएको छ।
प्रदर्शनकारीहरूले कप्तानगञ्ज चोकमा टायर बालेर नाराबाजी गर्नुका साथै स्थानीय व्यवसायमा आक्रमण गरेका छन्। प्रहरीका अनुसार एउटा फार्मेसी, मोटरसाइकल मर्मत गर्ने ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड भएको छ। केही स्थानमा पसलबाट सामान निकालेर आगजनीसमेत गरिएको सुरक्षा स्रोतले जनाएको छ। घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने बजार क्षेत्र केही समय पूर्ण रूपमा अस्तव्यस्त बनेको थियो।
एक पक्षको प्रदर्शनसँगै अर्को पक्ष पनि भेला हुन थालेपछि थप झडपको जोखिम बढेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले व्यापक सुरक्षा परिचालन गरेका छन्। कोशी प्रदेशका विभिन्न जिल्लाबाट दंगा नियन्त्रणका टोलीसमेत घटनास्थलतर्फ पठाइएको सुरक्षा अधिकारीहरूले बताएका छन्।
यही घटनाको प्रभाव सुनसरीका अन्य क्षेत्रमा पनि देखिएको छ। लौकही र फूलचोकमा समेत टायर बालेर विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित हुँदा यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ।
घटनापछि गृहमन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्रालयका अनुसार समितिलाई एक साताभित्र घटनाबारे प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
यसैबीच सुनसरी घटनाबारे समीक्षा गर्न केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बोलाइएको छ। गृहमन्त्री, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षकलगायत सुरक्षा नेतृत्वबीच घटनाको अवस्थाबारे छलफल भएको जनाइएको छ।
जिल्ला सुरक्षा समितिले पनि सुरक्षा व्यवस्था थप कडा बनाउने निर्णय गरेको छ। सुरक्षा निकायले अवस्था नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको बताए पनि कप्तानगञ्ज क्षेत्र अझै संवेदनशील रहेकाले स्थानीयलाई प्रशासनका निर्देशन पालना गर्न आग्रह गरिएको छ।
घटनाको वास्तविक कारण, गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो र त्यसपछिका हिंसात्मक गतिविधिबारे छानबिन समितिको प्रतिवेदनपछि थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।
