सुनसरीका पीडित र सरकारबीच भएको ७ बुँदे सम्झौतामा के–के छ?
अन्ततः पीडित परिवार र सरकारबीच ७ बुँदे सम्झौता भएको छ। सुनसरीबाट सुरु भएको धार्मिक हिंसा एकपछि अर्को जिल्लामा फैलिन थालेपछि हिजो गृहमन्त्री सुधन गुरुङ घटनास्थल पुगेका थिए।
घटनास्थल पुगेसँगै गुरुङले विभिन्न अस्पतालमा रहेका घाइतेहरूलाई भेट गरेका थिए भने पीडित परिवारसँग लामो छलफलपछि सम्झौता भएको हो।
सुनसरीमा हालसम्म २ जनाको ज्यान गएको छ भने ८ जना घाइते छन्। मृतक दुवैजनालाई शहीद घोषणा गर्नेदेखि १० लाख रुपैयाँ क्षतिपूर्ति दिनेसम्मको सम्झौता भएको छ।
सुनसरीपछि गृहमन्त्री गुरुङ सिरहातर्फ लागेका छन्, किनकि सिरहाको गोलबजारमा हिजो चलेको गोलीबाट २० वर्षीय गणेश यादवको मृत्यु भएको छ।
सोही यादवको परिवारलाई भेटेर सहमति गर्नका लागि गृहमन्त्री गुरुङ सिरहा जान लागेका हुन्। पीडित परिवार र सरकारबीच सम्झौता भएसँगै अब माहोल शान्त हुने अपेक्षा गरिएको छ।
सम्झौताका मुख्य सात बुँदा
खैर, अब हेरौँ गृह र पीडितबीच भएको उक्त ७ बुँदे सम्झौतामा के–के छ भन्ने कुरा,
- सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने।
- मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने।
- घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने।
- देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने।
- प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने।
- घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने तथा मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गरिने।
- आज अर्थात् श्रावण १५ गते दिउँसो २ बजे दुवै मृतकको अन्तिम दाहसंस्कार गरिने।
सम्झौता कार्यान्वयन गर्ने सरकारी प्रतिबद्धता
सम्झौतापत्रमा मृतकका परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि पीडित परिवारले सरकारले गरेका प्रतिबद्धता समयमै कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् भने सरकारका तर्फबाट सम्झौतामा उल्लेखित सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ।
