प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेट

Nepali News Desk
Nepali News Desk
Read this article also in : English
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेट

प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

प्रधानमन्त्री शाहसँग एकल भेट गरेका राजदूत श्रीवास्तवले दुई देशबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई अझ गहिरो बनाउने विषयमा अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भएको बताएका छन्।

विज्ञापन
khoj2

भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री शाहलाई शुभकामनासमेत दिएका थिए।

प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा नेपाल र भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित तथा विकास साझेदारीसँग सम्बन्धित विषय समेटिएका थिए। दुई देशबीच विभिन्न क्षेत्रमा भइरहेको सहकार्यलाई अघि बढाउने विषयमा पनि कुराकानी भएको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री शाहले भारतसँग नेपालको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल र भारतबीच राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै विकास साझेदारीका विभिन्न क्षेत्रमा लामो समयदेखि सहकार्य रहँदै आएको छ। नयाँ सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको यो भेटलाई पनि दुई देशबीचको सम्बन्ध र आगामी सहकार्यका विषयमा भएको कूटनीतिक संवादका रूपमा हेरिएको छ।