त्रिभुवन विमानस्थलमा ६१५ ग्राम सुनसहित दुई जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भन्सार छली सुन भित्र्याउने र त्यसको ओसारपसार तथा कारोबारमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
कतारको दोहा हुँदै कतार एयरलाइन्समार्फत काठमाडौं आएका यात्रुसँग जोडिएको घटनामा प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रबाट बाराका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बारा पचरौता नगरपालिका–१ पिपरपाटीका अन्दाजी ३३ वर्षीय अनिस अन्सारीको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका गरगहना बरामद गरिएको छ। बरामद गरगहनाको तौल ७९.६ ग्राम रहेको छ।
त्यस्तै, कतारको दोहा हुँदै काठमाडौं आएका ४२ वर्षीय भारतीय नागरिक मोहम्मद चेरा थोडीको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले उनलाई विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिएको थियो।
जाँचका क्रममा उनको साथबाट भन्सार छली गरी ल्याइएको सुनजस्तो देखिने ५३६ ग्राम पहेँलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
दुवै जनाबाट गरी कुल ६१५.६ ग्राम सुनजस्तो देखिने पहेँलो धातु तथा गरगहना बरामद भएको छ।
प्रहरीले नियन्त्रणमा लिएका अनिस अन्सारी र मोहम्मद चेरा थोडीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाएको छ।

